कैलाश सिरोहियाले धम्क्याएको भन्दै सुमार्गी पुगे प्रशासन (निवेदनसहित)
काठमाडौँ । आफू र आफ्नो परिवारको ज्यानमाथि खतरा रहेको भन्दै व्यवसायी अजय सुमार्गीले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग सुरक्षाको माग गरेका छन् ।
आर्थिक लेनदेनको मामिलामा कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाबाट सांघातिक हमला समेत गराउने आशंका व्यक्त गर्दै मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत रहेका अजयराज सुमार्गी पराजुलीले प्रशासन समक्ष सुरक्षाको माग गरेका हुन् ।
निवेदनमा सिरोहियाले आर्थिक सौदाबाजी गरेको र आफूले नमानेपछि धम्की दिने र कान्तिपुर मिडिया ग्रुपका संचार माध्यममा आफू विरुद्ध नभएका समाचार सम्प्रेषण गराएको सुमार्गीले उल्लेख गरेका छन् ।
२०७० साल असार १६ गते सिरोहियाकै अनरोधमा आफूले सिरोहियाको झण्डै ६ आना जग्गा किनेको र एकवर्षपछि सिरोहियाले पुरानै मुल्यमा जग्गा फिर्ता मागेकोमा आफूले नमानेको, त्यसपछि सिरोहियाले आर्थिक सौदावाजी गर्दै धम्की दिएको सुमार्गीले उल्लेख गरेका छन् ।
त्यसपछि सिरोहियाले कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नेपाल साप्ताहिक,कान्तिपुर टेलिभिजन, रेडियो कान्तिपुरका माध्यमबाट आफू विरुद्ध कपोलकल्पित र आधारहीन समाचार संप्रेषण गराएको सुमार्गीको निवेदनमा उल्लेख छ ।
सुमार्गीले दिएको निवेदन दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरी परिसर काठमाडौंँमा आवश्यक कारवाहीका लागि पत्राचार गरिसकेको छ ।
ajay sumargi