News

उपप्रमुख रानीपोखरीमा ताला लगाउने, प्रमुख फोड्ने

उपप्रमुख रानीपोखरीमा ताला लगाउने, प्रमुख फोड्ने

काठमाडौं । राजधानीको ऐतिहासिक र धार्मिक सम्पदा रानीपोखरीको विषयलाई लिएर चर्को विवाद सुरु भएको छ।

२०७२ सालको भूकम्पले ध्वस्त भएको रानीपोखरीको पुनर्निर्माणको क्रममा विवाद भएपछि केही समय बन्द भएर पुनः काम थालिएको थियो। काठमाडौं महानरपालिका र पुरातत्त्व विभागबीच पुनर्निर्माण गर्ने विषयमा सहमति भएपछि ठेकेदारले काम अगाडि बढाएलगत्तै विवादले उग्ररूप लिएको हो। ठेकेदार कम्पनीले रानीपोखरी पुनर्निर्माणमा सिमेण्ट प्रयोग गर्दै ऐतिहासिक स्थललाई व्यापारिक प्रयोजनका लागि बनाउन खोजेको भन्दै मंगलबार काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले निर्माणाधीन अवस्थामा रहेको रानीपोखरीको मूल ढोकामा ताला लगाइन्। उपप्रमुख खड्गीले ताला लगाएको केही समयमै नगरप्रमुख विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगेर ताला फुटाउन निर्देशन दिए।

काठमाडौं महानगरपालिका २८ का वडाध्यक्षसहित रानीपोखरी पुगेकी उपप्रमुख खड्गीले प्रमुख शाक्यले एकलौटी रूपमा काम गरेको भन्दै रानीपोखरीजस्तो सम्पदा पुनर्निर्माण गर्दाको सबैको सल्लाहअनुसार गर्नुपर्ने जिकिर गरिन् उपप्रमुख खड्गीले तालाबन्दी गरेको सुनेर रानीपोखरी पुगेका प्रमुख शाक्यले ताला खोल्न आग्रह गर्दा वडा नं. २८ का अध्यक्ष भाइराम खड्गी असहमति जनाए। वडाध्यक्ष खड्गीले कुनै हालतमा नखोल्ने अडान लिएपछि प्रमुख शाक्यले ताला काट्न निर्देशन दिएका थिए। केही बेरको भनाभनपछि ताला काटियो र नगरप्रमुखसहितको टोलीले रानीपोखरीको पुनर्निर्माण अवलोकन गरेको थियो।
नेपालसमाचारपत्र दैनिकबाट

विशेष