एमालेद्वारा मत परिणाम छिटो सार्वजनिक गर्न आयोगको ध्यानाकर्षण

भक्तपुर । नेकपा एमालेले छिटो भन्दा छिटो समानुपातिक तर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
आज बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले निर्वाचन परिणाम सार्वजनिक गरी सरकार निर्माणको प्रक्रिया सहज गराउन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
समानुपातिक तर्फको निर्वाचन परिणाम घोषणा नहुनु दुखद भएको ठहर गर्दै बैठकले यसकै कारण सरकार निर्माणमा अन्यौल गराएको प्रति निर्वाचन आगोगको ध्यानाकर्षण गराएको उनले बताए ।
नयाँ सरकार निर्माण, माओवादी केन्द्रसँगको पार्टी एकता र राष्ट्रिय सभा गठनका विषयमा पार्टी एकता संयोजन समितिको बैठक छिट्टै बसी टुंग्याउने बारे बैठकमा छलफल भएको छ ।
बैठकले प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिकमा जाने ७५ जनाको सुचिको अन्तिम टुंगो लगाएको सुचि भोली निर्वाचन आयोगमा बुझाउने बताउँदै सचिव भट्टराईले एमालेको प्रदेश सभामा प्रत्यक्षबाट १६८ जना र समानुपातिक तर्फबाट ७५ जना गरी २४३ जना सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्ने बताए ।
nirbachan aayog