News

‘गाली सहन नसकी’ ढुंगाले हानेर हत्या

‘गाली सहन नसकी’ ढुंगाले हानेर हत्या

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या गरेको अभियोगमा पक्राउ परेका दोरम्बा गाउँपालिका वडा नम्बर–१ का २३ वर्षीय कुमार घिसिङलाई सार्वजनिक गरेको छ ।

प्रहरीले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गर्दै सोही स्थानका ४८ वर्षीय बाबुराम तामाङको हत्या अभियोगमा पक्राउ परेका घिसिङलाई सार्वजनिक गरेको हो ।

घिसिङले गत पुस १० गते बिहान ११ बजेतिर तामाङको हत्या गरी स्थानीय लप्सीखोलामा शव ढुंगाले छोपेर हिँडेको स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अभियुक्त घिसिङले आफूलाई तामाङले पटक–पटक ‘ज्यानमाराको सन्तान’ भनेर अर्नगलरुपमा गाली–गलौज गर्ने गरेको र उनको गाली सहन नसकी ढुंगाले हानेर हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जिल्ला प्रहरी प्रमुख कुमोद ढुंगेलले बताए ।

घिसिङले हत्या गर्न प्रयोग गरेको ढुंगासमेत प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो । सो हत्याको आशंकमा पक्राउ परेका अरु ८ जनालाई भने प्रहरीले खोजेको समयमा हाजिर हुनेगरी छाडिएको जानकारी पनि सो अवसरमा गराइयो ।

पुस ९ गते बिहान घरबाट निस्किएका तामाङ राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरुले उनको खोजी गरेका थिए । खोजी गर्नेक्रममा घिसिङको मृत शरीर स्थानीय लप्सीखोलामा फेलापरेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रामेछापका निरीक्षक राजेन्द्रकुमार थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले स्थलगतरुपमा गरेको अनुसन्धान र स्थानीयहरुको भनाइका आधारमा शंकास्पद ८ पुरुष र एक महिलासहित ९ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो । उनीहरुसँगको चारदिने अनुसन्धानपछि अभियुक्त घिसिङले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ

विशेष