मेरो परिवार मेरो कथा News

सहयोग उठाएरै अशोक उडे अमेरिकाः सफल होस् मुहार फेर्ने सपना

सहयोग उठाएरै अशोक उडे अमेरिकाः सफल होस् मुहार फेर्ने सपना

काठमाडाैं । अशोक श्रेष्ठको अनुहार चिटिक्क परेको थियो । प्रतिष्ठित परिवारमा जन्मेका उनी भाग्यमानी ठानिन्थे । देख्नेले भन्थे–ह्याण्डसम ब्वाय (कति राम्रो बच्चा)!

नियति उनको साथमा थिएन । उनको मुहारमा ट्युमर पलायो । ट्युमरमाथि पारिवारिक दुःख थपियो । बुबा र आमा गुमाएपछि उनको जीबन नारकीय बन्यो । मान्छेले मान्छेलाई गर्ने व्यवहार कति फरक पर्दोरहेछ, सायद अशोकलाई जति कसैलाई अनुभव होला ।

कम्पुटर र अंग्रेजीमा दख्खल राख्ने अशोकमा दुई विकल्प थिएः यात घृणासँग संघर्ष गरेर ज्युने वा मृत्युसँग आत्मसमर्पण गर्ने । उनले बहादुरीको बाटो रोजे । संसारमा घृणामात्रै छैन, अपार माया पनि छ भन्ने मनन गरे । मुहार फेर्न सपना देखे । र, मुखको ट्युमरको उपचार गर्ने ठाउँको खोजि गरे, सहयोगीसँग हात फैलाए ।

शुरुमा सहयोगको छाँट देखिएन । तर पनि धैर्यता गुमाएनन् । जब सहयोगीहरुले उनको भिडियो बनाएर फेसबुकमा हाले । देश विदेशमा रहेकाले हेरे । सहयोग जुट्न थाल्यो । फेसबुकको भिडियो के हो के हो भन्ने कतिपयलाई परेको थियो । राष्ट्रिय टेलिभिजनमा उनको अन्तर्वार्ता आयो । अन्तर्वार्ता प्रशारण भएपछि उनको कथा थप विश्वसनिय देखियो । सहयोगको मात्रा बढ्न थाल्यो ।

सहयोग त पुग नपुग उठ्यो । तर, अमेरिकी दुतावासले दुई दुई पटक भिसा दिएन । उपचार गर्न जाने बिरामीलाई समेत भिसा नदिने भन्दै अमेरिकी नीतिको विरोध भयो । तेस्रो पटकको प्रयासमा अशोकले भिसा पाए ।

अमेरिका उढ्नु अघि अशोकले मार्मिक सन्देश लेखेका छन् । उनले सहयोगीहरुलाई धन्यवाद दिँदै अमेरिकामा पुगेपछि आफ्नो उपचारका बारेमा थप जानकारी दिने जनाएका छन् । ललितपुरका मेयर चिरिबाबु महर्जन, गो फण्डबाट सहयोग जुटाउने क्रिष्टिना एलेन, मुखिया गुरुङ, नेवा इन्टरन्याश्नल जापानलगायतलाई उनले सम्झेका छन् ।

फेसबुकमा भिडियो सन्देश राखेर सहयोग जुटाउन सहयोग गर्ने अनुप थापा र उनको समुहप्रति श्रेष्ठले कृतज्ञता व्यक्त गरेका छन् । टेलिभिजनको पर्दामा पहिलो पटक अन्तर्वार्ता लिने नारायण पौडेल र अन्य संचारमाध्यमप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।

मुखमा ट्युमर हुँदाको कहालीलाग्दो पीडा सुनाउँदा अशोकका आँखा रसाउने गर्दछन् । सुन्नेले मन थाम्न सक्दैनन् । मनकारीहरुकै सहयोगका कारण अशोकको शिकागोस्थित अस्पतालमा जनवरी ३ मा परीक्षण थालिने छ । अप्रेशन सफल भएमा अशोकको मुहार फेरिने छ । अशोकको बाल्यकालको हंसमुख फर्कने छ । मुहार फेर्ने उनको सपना सफल होस् ।

 

विशेष