News

मेलम्चीको ग्याल्थुम सुरूङखण्डको ‘ब्रेकथ्रु’, समयमै काम सकिने

मेलम्चीको ग्याल्थुम सुरूङखण्डको ‘ब्रेकथ्रु’, समयमै काम सकिने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक हेलम्बुको अम्बाथान–ग्याल्थुम सुरुङखण्डको शनिबार ब्रेकथ्रु भएको छ । ८ दशमलव दुई किलोमिटर लम्बाइ रहेको सो खण्डको ब्रेकथ्रु भएपछि ४५० मिटर मात्र सुरुङ खन्न बाँकी हुनेछ । शुक्रबार राति १२ बजेको ब्लास्टले बे्रकथ्रु गरिएकाे मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

कुल २७‍५ किलोमिटर लामो सुरुङ खन्ने काम सफलता नजिक पुगेको भन्दै मेलम्ची खानेपानी विकास समितिले तोकिएको समयमै आयोजना सम्पन्न हुने जनाएको छ । ग्याल्थुम–सिन्धुखण्डको ४५० मिटर पूरा गरेपछि मेलम्चीको सुरुङ खन्ने काम सम्पन्न हुनेछ । समितिका सूचना अधिकृत राजेन्द्रप्रसाद पन्तले शनिबार ब्रेकथ्रु गरिएपछि समयमै काम सम्पन्न गर्न सकिने बताए ।

निर्माण सम्झौताअनुसार सन् २०१८ मार्च २६ मा सुरुङ खन्ने काम सम्पन्न गर्नुपर्छ । तोकिएको समयमा पूरा हुन अब साढे तीन महिना बाँकी छ । हाल दैनिक १४ मिटरका दरले सुरुङ खनिएको पन्तले जानकारी दिए ।

जसअनुसार दैनिक १४ मिटरका दरले सुरुङ खनिएपछि बाँकी रहेको ९० दिनमा झण्डै एक हजार सय मिटर पूरा हुनेछ तर अब सुरुङ खन्न बाँकी जम्मा ४.२ मिटर मात्र बाँकी छ । सुरुङको ब्रेकथ्रु गरिसकेपछि करिब तीन महिनामा त्यसको ढलानलगायत फिनिसिङ गर्न लाग्ने अनुमान गरिएको छ । निर्माण कम्पनीले पनि तीन महिनामा ढलानलगायतका काम सम्पन्न गर्ने बताएको उनले बताए । छिटो सम्पन्न गर्न कामको गति बढाएका छौँ, रातिमा पनि सुरुङ खन्ने काम भएको छ, हामी सफलता नजिक पुगेका छौँ, अब समयमै सकिन्छ, उनले भने ।

विशेष