विदेश

पूर्वराष्ट्रपति आतंकारीको निशानामा मारिए

पूर्वराष्ट्रपति आतंकारीको निशानामा मारिए

साना । यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुथी समूहका उच्च अधिकारीले पुष्टि गरेका छन् ।

सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका, यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले पनि जनाएको छ ।

मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरिर कैद भएको दृष्य देखिएको बताएको छ । ‘मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्,’ अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ ।

यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरिरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो ।

यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ बर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए ।

विशेष