News

भोजपुर–दिक्तेल सिधा यातायात सञ्चालनमा

भोजपुर–दिक्तेल सिधा यातायात सञ्चालनमा

भोजपुर ।  भोजपुरबाट खोटाङको सदरमुकाम दिक्तेलसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ ।

वर्षातको पानीले सडकमा पारेको खाल्डाखुल्डी पुर्नाका साथै मर्मत गरेर भोजपुरबाट दिक्तेलसम्म सिधा यातायात सञ्चालन गरिएको हो । करिब ९१ किमी लम्बाइ रहेको भोजपुरदेखि दिक्तेलसम्मको सेवाका लागि बिहान ७ः१५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी संघ भोजपुरका नवीन राईले जानकारी दिए । 

गत वर्षदेखि सिधा यातायात शुरु भएको खोटाङ र भोजपुरमा यसअघि चखेवासम्म मात्र यातायात सञ्चालन हुँदै आएको थियो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा कालोपत्रको काम पनि तीव्र गतिमा भइरहेको छ । तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रको काम थालिएको सडक फराकिलो पार्ने, ग्याभिङ पर्खाल भर्ने, पुल निर्माण गर्ने, गिट्टीढुङ्गा फोर्नेलगायत काम भइरहेको सडक आयोजनाका इन्जिनियर युवराज पाण्डेले बताए । 

करिब ४६ किमी लामो सडक पाँच खण्डमा विभाजन गरेर कालोपत्रका काम गरिएको छ । गोल्डेन गुड प्रालिले ठेक्का लिएको सडक करिब एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने बताइएको छ ।

विशेष