News

चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान

चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान

चितवन । प्रतिनिधिसभा र प्रदेशसभाको आज सम्पन्न निर्वाचनमा जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यकिन विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणअनुसार ७० प्रतिशत हाराहारी मत खसेको छ । अहिलेसम्मको विवरणअनुसार केही केन्द्रमा बढीमा ७५ प्रतिशतसम्म मत खसेको बताउँदै निर्वाचनका क्रममा कुनै अप्रिय घटना नभएको स्पष्ट गरे । 

यसअघि भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो । सोका कारण वडा नं १९ मा पुनः मतदान गर्नुपरेको थियो । सो घटनापछि मतगणनामा देशका विभिन्न ठाउँमा तारजाली लगाउने गरिँदै आएको छ । 

जनकपुरधाम– निर्वाचनमा धनुषा जिल्लामा ७० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार शान्तिपूर्ण ढंगले सम्पन्न निर्वाचनमा शहरी क्षेत्रमा कम र ग्रामीण क्षेत्रमा अधिक मतदान भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मतगणना शुक्रबार बिहान ८ बजेदेखि शुरू हुनेछ । 

dhanusa

विशेष