News

निर्वाचन विथोल् खोज्ने सीके राउतका तीन कार्यकर्ता पक्राउ

निर्वाचन विथोल् खोज्ने सीके राउतका तीन कार्यकर्ता पक्राउ


राजविराज । बिहीबार सम्पन्न भएको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उच्छृङ्खल क्रियाकलाप गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजविराजस्थित निमावि केन्द्र नं ६ मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र लिई च्यातेर फ्याँक्ने ३० वर्षीय लालु साहलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित लोनियाँ स्वास्थ्य केन्द्रको मतदान केन्द्रमा निर्वाचन बिथोल्ने र होेहल्ला गर्ने २५ वर्षीय सुशीलकुमार साह र २२ वर्षीय श्यामकुमार यादवलाई प्रहरीले पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याएको र अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरी उपरीक्षक सिँहले बताए ।

यसैगरी, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दुई पक्षबीच भएको कुटाकुटमा दुईजना घाइते भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको बुथ बाहिर घरेलु हतियार सहित दुई पक्षबीच कुटाकुट भएको स्थानिय महेन्द्र सदाले बताए ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ औरहीस्थित सरस्वती मावि मतदान केन्द्र बाहिर दुई पक्षबीच लाठी, फर्सासहितका घरेलु हतियारले एकले अर्कामाथि प्रहार गर्दा दुई जनाको टाउको नै फुटेको बताइएको छ । घाइते हुनेमा स्थानीय मुनर यादव र बद्री यादव घाइते रहेको प्रहरीले जनाएको छ । ।

घाइतेमध्ये मुनरलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको छ भने बद्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । परिवारिक कुरालाई लिएर दुबैबीच विवाद हुँदा कुटाकुट भएको स्थानियबासीले जनाएका छन् ।

यसैबिच, कुटपिटमा संलग्न भएका घाइते मुनरका पिता जिबछलाई प्रहरीले घरेलु हतियारसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

विशेष