News

निर्माण कम्पनीको चरम लापरवाहीः ७ बर्ष बितिसक्दा पनि मध्यपहाडी पुष्पलाल लोकमार्ग जाजरकोट खण्डको ट्रयाक खुल्न सकेन

निर्माण कम्पनीको चरम लापरवाहीः ७ बर्ष बितिसक्दा पनि मध्यपहाडी पुष्पलाल लोकमार्ग जाजरकोट खण्डको ट्रयाक खुल्न सकेन
माघ - १९ । दुई बर्षमा काम सम्पन्न हुनु पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग जाजरकोट खण्डको ट्रयाक खोल्ने काम सात बर्षसम्म अलपत्र परेको छ । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्रयाक खोल्ने कार्य अहिलेसम्म पूरा नभएर अलपत्र परिरहेको छ । निर्माण कम्पनी र सडक आयोजना कार्यालयको उदासिनता र लापरवाहीले मध्यपहाडी पुष्पलाल लोकमार्ग जाजरकोट खण्डको ट्रयाक खोल्ने काम सात बर्षसम्म अलपत्र परेको हो ।

जाजरकोट खण्डसंगै एकैसाथ काम शुरु गरिएको रुकुम र दैलेख खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भैसकेको छ । तर, रुकुम र दैलेखलाई जोड्ने मध्यभागका रुपमा रहेको जाजरकोट खण्डको निर्माण कार्यले गति लिन सकेको छैन । जाजरकोट खण्ड दुई बर्षमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेका निर्माण कम्पनीले सात बर्षसम्म ट्रयाक नै नखोलेर मध्यपहाडी लोकमार्गलाई अलपत्र पारेको भन्दै जिल्लाबासी आक्रोशित हुन थालेका छन् । जाजरकोट खण्डमा सडक निर्माणको जिम्मा लिएका आधा दर्जन बढी निर्माण कम्पनीको चरम लापरवाहीले बिभिन्न ठाउँको निर्माण कार्य अलपत्र पारिएको छ । जिल्लाको कुदुदेखि दैलेखको सीमाना सुयाँडा सम्मको ८२ किलोमीटर सडक अन्तरगत कार्कीगाउँ–४ काँडास्थित मन्ताभीरको करिव ४ सय मीटर कडा चट्टानको निर्माण कार्य अलपत्रमा परेको छ । उक्त खण्डको निर्माण जिम्मा लिएको धनन्जय सिद्धार्थ जेभीले चट्टान काट्ने काम प्रति ब्यवास्ता गरेपछि सम्बन्धित निकायले चासो नदिएको जिल्लाबासीको आरोप छ । 'सम्बन्धित निकायको उदासिनताका कारण यो सडकमा पर्ने मन्ताभीरको चट्टान काट्ने काम लामो समयदेखि अलपत्रमा परेको हो,' कार्कीगाउँका प्रेमबहादुर खत्रीले भने । जाजरकोट खण्डको ट्रयाक खुली सकेको सम्बन्धित बिभाग तथा निकायमा मध्यपहाडी लोकमार्गले प्रगति प्रतिबेदन बुझाई सकेको समाचार श्रोतले जनाएको छ । तर, निर्माण कम्पनीले चार सय मिटर कडा चट्टानको काम पूरा नगर्दा र तीनवटा मोटरेबल पुलको निर्माण कार्य सम्पन्न नहुदा जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग नै अलपत्रमा परेको छ । जिल्लाका अन्य ठाउँको सडकको ट्रयाक खोली स्तरोन्नती गर्ने कार्य भैरहेको भएता पनि काकीगाउँ स्थित मन्ताभीर, कालाढुङ्गा, थलहबजार, चुवादेउलीको ट्रयाक खोल्ने काम अलपत्र परेको छ भने, भेरीनदी र बंग्रेखोलाको मोटरेबल पुलको निर्माण कार्य समयमै पूरा हुन सकिरहेको छैन । मोटरेबल पुलका निर्माण कम्पनीलाई छिटो काम सम्पन्न गर्न आफूले ताकेता गरिरहेको आयोजना कार्यालय दाङका डिभीजन ईन्जिनियर नारायणप्रसाद निउरेले बताए । 'जसरी भएपनि सम्झौताको म्याद भित्रै काम पूरा गराउन कार्यालय लागेको छ, तोकेको मिति भित्रै काम पूरा नगर्ने व्यवसायीको ठेक्का तोड्ने, फर्मलाई कालो सूचीमा राख्छौं,' –ईन्जिनियर निउरेले भने । बंग्रेखोलामा रहेको मोटरेबल पुल केही दिनमै ढलान गर्ने चरणमा पुगेको, भेरी नदीमा निर्माणाधिन मोटरेबल पुलको काम भैरहेको र जाजरकोट खण्डका बिभिन्न ठाउँको गरि जम्मा २ किलो मिटर मात्र ट्रयाक खोल्न बाँकी रहेको निउरेले दावी गरे । काम गर्न ताकेता गरेपछि केही समय अघि मान्ताभीरमा काम गर्न थालेको निर्माण कम्पनीको डोजरको चट्टान काट्ने ब्रेकर र बकेट भाँचिएपछि काम रोकिएको निउरेले वताए । उक्त डोजरको ब्रेकर र बकेट मर्मतका लागि नेपालगञ्ज लगिएको र केही दिनमै मर्मत भएरर कामको सुरुवात गरिने ईन्जिनियर निउरेको भनाई रहेको छ । थलहमा निर्माण गर्नु पर्ने मोटरेबल पुलको टेण्डर नै नभएको उनले जानकारी दिए । गत बर्षसम्म मध्यपहाडी लोकमार्गको निर्माण कार्य पूर्वी क्षेत्रमा जोड दिएका थियौं, यस बर्ष देखि पश्चिमतिर जोड दिएका छौं ईन्जिनियर निउरेले भने । सडक निर्माणको कामले गति लिन नसकेपछि दुई बर्ष भित्रै यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य पनि अलपत्र परेको छ । काम नगर्ने निर्माण व्यवसायीलाई कारवाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने जिल्लाबासीले माग गरेका छन् । कतिपय निर्माण व्यवसायिले अर्काको फर्मवाट काम लिने, कामको सुरु गर्ने, पेश्की लिने, अनि काम पूरा नगरेरै अलपत्र छोडेर भाग्ने गर्दा समस्या भएको आयोजना कार्यालय दाङको भनाई छ । कतिपय निर्माण व्यवसायीले निर्माण कार्य रोकिएको २/३ बर्ष बिति सक्दा पनि काम अगाडि बढाउन आनाकानी गरेका छन् । बीचमै काम छोड्ने र लापरवाही गर्ने निर्माण कम्पनीलाई सम्बन्धित निकायवाट कुनै कारवाही नहुनुले समस्या भएको भुरका स्थानीयवासी हिराबहादुर घर्तीले बताए । निर्माण व्यवसायिलाई राजनैतिक संरक्षणका कारण पनि निर्माण कम्पनीले जे गर्दा पनि कारवाही नहुने घर्तीको भनाई छ । 'सडकका ग्याभिङ, वाल, नाली, मोटरेबल पुल जस्ता काममा लापरवाही गरिएको छ । गुणस्तर हिन काम गरिएको छ । कतिपय ठाउँमा फाउन्डेसन विनाको वाल निर्माण गरिएको छ,' स्थानीय घर्तीले भने । राष्ट्रिय रणनैतिक महत्वको लोकमार्ग निर्माणमा लापरवाही गर्ने व्यवसायीलाई कारबाहीको दायारामा ल्याउनु पर्ने घर्तीको माग छ । निर्माण व्यवसायीले समयमा काम पूरा नगर्दा निर्माण भएको सडक पनि जीर्ण अवस्थामा पुगेको छ । आयोजनाले जाजरकोट खण्डको सडक निर्माणमा १ अर्ब बढी रकम खर्च गरि सकेको छ । ट्रयाक नै खुल्न बाँकी रहेको यस सडक खण्डको यसै आर्थिक बर्षमा स्तरोन्नती गरी कालोपत्रे गर्नका लागि सर्भे डिजाईन समेत गर्ने तयारी गरिरहेको मध्यपहाडी लोकमार्गको कार्यालय दाङले जनाएको छ । जाजरकोटमा ८२ किलो मिटर रहेको मध्यपहाडी लोकमार्ग पाँचथरको चित्रेभञ्ज्याङ देखि बैतडीको झुलाघाट सम्म १ हजार ६ सय ६५ किलामीटर लम्बाई रहेको आयोजनाले जनाएको छ ।
दीपबहादुर घर्ती / जाजरकोट

Jajarkot Lok Marg

विशेष