विदेश

राष्ट्रपतिको उम्मेदवार नबन्ने राष्ट्रसंघका पूर्वमहासचिव बानको घोषणा

राष्ट्रपतिको उम्मेदवार नबन्ने राष्ट्रसंघका पूर्वमहासचिव बानको घोषणा

माघ २० । संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पस्ट पारेका छन् ।

आफ्नो मातृदेशमा मंगलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफू राष्ट्रपतिको दौडमा नभएको स्पस्ट पारेका हुन् ।देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छाशक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए ।

उनले आफ्नो यो निर्णयबाट आफ्ना शुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिए ।उनले अहिलेसम्म कहिल्यैपनि आफू राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिकरुपमा कहीँ बताएका छैनन् । उनले आयोजना गरेको पत्रकार सम्मेलन कुनै पूर्वतयारीबिना भएको थियो ।

उनी गत जनवरी १२ मामात्रै आफ्नो देश दक्षिण कोरिया फर्किएका हुन् । बानले सम्हालेको संयुक्त राष्ट्रसंघको सबैभन्दा माथिल्लो पदको दोस्रो पाँच वर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो ।

उनले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहने जो–सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिनसक्ने बताएका छन् ।

banki mun

विशेष