विदेश

अष्ट्रेलियाका प्रधानमन्त्रीसँग बेस्सरी रिसाए ट्रम्प

अष्ट्रेलियाका प्रधानमन्त्रीसँग बेस्सरी रिसाए ट्रम्प

माघ २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलसँगको फोनवार्ता रिसाएर छोट्याएका छन् । जनवरी २८ का दिन करिब एक घण्टाका लागि तय गरिएको सो फोनवार्ता ट्रम्पले २५ मिनेटमै समाप्त गरेका थिए ।

अष्ट्रेलिया र अमेरिकाबीच भएको शरणार्थी सम्झौताको विषयमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री टर्नबुलबीच फोनवार्ताकै क्रममा मतभेद भएको हो । बोल्दाबोल्दै ट्रम्प यति रिसाएका थिए कि उनले टर्नबुललाई सो दिन आफूले चार जना विश्व नेतासँग बोलेको तर टर्नबुलसँगको वार्ता ’सबैभन्दा खराब’ भएको कुरा पनि जानकारी दिएका थिए ।

शरणार्थी सम्झौतालाई लिएर ट्रम्पले टर्नबुलमाथि अरु ‘बोस्टन बम्बर’ लाई अमेरिका भित्र्याउन खोजेको आरोप पनि लगाएका छन् । सन् २०१३ मा किर्गिस्तानमा जन्मिएका दुई अमेरिकी नागरिकले बोस्टन म्याराथनको क्रममा बम विस्फोट गराउँदा ३ जनाको मृत्यु हुनुका साथै २६० जना घाइते भएका थिए ।

‘म ती मानिसहरु लिन चाहन्नँ,’ रिपोर्टअनुसार ट्रम्पले टर्नबुललाई फोनवार्तामा भनेका थिए । त्यसपछि टर्नबुलले कुराकानीको विषय परिवर्तन गर्न चाहेका थिए तर ट्रम्पले फोन काटेका थिए । असफल फोनवार्तापछि हालै ट्वीटरमार्फत ट्रम्पले ‘हजारौँ गैरकानुनी आप्रवासी लिने’ ओबामा प्रशासनले गरेको यस्तो ‘बेवकुफ’ सम्झौताको अध्ययन गर्ने पनि बताएका छन् ।

Donald Trump

विशेष