विदेश

भारतको बारुदी सुरुङमा विस्फोट, ८ प्रहरीको मृत्यु ५ घाइते

भारतको बारुदी सुरुङमा विस्फोट, ८ प्रहरीको मृत्यु ५ घाइते
माघ–२० । पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन् । प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान गरेका छन् । घटना उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरदेखि ४३७ किलोमिटर दक्षिणपश्चिममा पर्ने कोरापुट जिल्लाको सुन्कीनजिकैको मुख्य सडकमा भएको थियो । “प्रहरीको गाडीमा यात्रा गरिरहेका बेला उडिसा राज्यका आठ जना प्रहरी मारिएका छन्, अरु पाँच जना घाइते भएका छन्,” कोरापुटका एक प्रहरी अधिकारीले जानकारी दिए । “घाइते सबैलाई तत्काल उपचारका लागि छिमेकमा पर्ने आन्ध्र प्रदेश राज्यको विसखापाटनम् अस्पतालमा लगिएको छ । उनीहरुको अहिले तिव्रगतिमा उपचार भइरहेको छ,” उनले थपे । घटनामा परी मृत्यु हुने मध्ये चार जनाको घटनास्थलमै र अरुको अस्पतालमा मृत्यु भएको उडिसा प्रहरीका प्रमुख केपी सिंहले पत्रकारहरुलाई जानकारी दिए । ती प्रहरीहरु अर्को जिल्लामा हुन लागेको तालिममा सहभागी हुन जाँदै गर्दा सो आक्रमण भएको हो । प्रहरी गाडीमा १३ जना चढेका थिए । रासस/सिन्ह्वा

बारुदी सुरुङ भारत विस्फोट

विशेष