तीस हजार तिरेपछि थेसिस घरमै आइपुग्छ
माघ–२२ । ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्ठाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य कलेजवरिपरि थुप्रै स्टेसनरी पसल छन् । विद्यार्थीलाई शैक्षिक सामग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर शोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन् ।
पसलमा केही थेसिसका नमुनाहरु पनि राखिएका थिए । टाइपिङ, प्रिन्टिङ र हार्ड बाइन्डिङ गरिन्छ भनेर लेखिएपनि पसलको वातावरण भने अर्कै देखिन्थ्यो । त्यहाँ आउने विद्यार्थीले थेसिस कति रकममा पूरा गराइन्छ भनी बार्गेनिङ गरिरहेका थिए । पसलेले ३० हजारमा थेसिस दिने र टपिक्ससहित चाहिएमा ३५ हजार खर्च गर्नुपर्ने बताएका थिए ।
पसलेले त्रिभुवन विश्वविद्यालयका ख्यातिप्राप्त प्राध्यापकसमेत आफ्नो सम्पर्कमा रहेको र उनीहरुको हस्ताक्षरसहितको मेडिकल विषयको थेसिस ४५ हजारमा उपलब्ध गराउने बताउँदा बार्गेनिङ गरिरहेका विद्यार्थी पनि छक्क परे ।
विद्यार्थीले अध्ययन गरेर जान्नेभन्दा जसरी पनि शैक्षिक योग्यताको प्रमाणपत्र हात पार्न खोज्ने र पढाउन मेहनत नगर्ने शिक्षकका कारण थेसिस झारा टाराइमा सीमित बनेको शिक्षाविद् प्रा.डा.तीर्थ पराजुलीको अनुभव छ ।
मानविकी शास्त्र संकायका सहायक डिन निमलकुमार शर्माका अनुसार विश्वविद्यालयमा बौद्धिक चोरी मापन गर्ने संयन्त्र बनाउन नसकेका कारण विद्यार्थी र शिक्षक दुवैमा थेसिस अध्ययन अनुसन्धानको विषयभन्दा सार्ने र चोरी गर्ने विकृति बढ्दै गएको हो । –नागरिक दैनिकबाट