विदेश

ट्रम्पको मुस्लिम नागरिकलाई रोक लगाउने निर्णय एक अदालतले राेक्याे

ट्रम्पको मुस्लिम नागरिकलाई रोक लगाउने निर्णय एक अदालतले राेक्याे
माघ–२२ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी दिएको आदेश अमेरिकाको एक अदालतले तत्कालका लागि रोक्ने आदेश दिएको छ । वासिङटन राज्यको सिएटलमा रहेको संघीय अदालतका न्यायाधीश जेम्स रोबर्टले देशव्यापी रुपमा लागु हुनेगरि गरेको राष्ट्रपति ट्रम्पको आदेश तत्कालका लागि रोक्ने आदेश दिएका हुन् । गएको हप्ता राष्ट्रपति ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान, यमन र सिरियाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तथा शरणार्थी कार्यक्रम बन्द गर्ने सम्बन्धी कार्यकारी आदेश दिएका थिए । त्यसपछि अमेरिकासहित विभिन्न देशमा त्यसको विरोधमा प्रदर्शन भएको थियो । अमेरिकाको विदेश मन्त्रालयले ट्रम्पको आदेशपछि ६० हजारभन्दा बढी भिसा रद्द गरिसकेको छ । राष्ट्रपति ट्रम्पको आदेशपछि विभिन्न विमानस्थलमा समस्या पनि भएको थियो । ट्रम्पको आदेश लगतै विभिन्न अदालतमा त्यसविरुद्ध मुद्दा पनि दायर भए । वासिङ्टनको सिएटलको अदालतले ट्रम्पको आदेशमा रोक लगाउने गरी गरेको फैसला विरुद्ध सरकारी अधिकारी अपिल भने गर्न पाउने छन् । मिनेसोटाको संघीय अदालतले पनि ट्रम्पको आदेश विरुद्ध फैसला गरेको छ । बोस्टनको अदालतले भने ट्रम्पको पक्षमा फैसला गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

अदालत डोनाल्ड ट्रम्प मुस्लिम नागरिक

विशेष