News

'पार्टी पत्रकारिता मौलाएकोमा' सञ्चारमन्त्री कार्की चिन्तित

'पार्टी पत्रकारिता मौलाएकोमा' सञ्चारमन्त्री कार्की चिन्तित
माघ–२२ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पार्टी पत्रकारिता मौलाउँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्र, जनता, जनजीविका, भाषा, साहित्य, लोपोन्मुख जातजाति तथा पिछडिएका समुदायको अधिकारलाई गौण राखी पार्टी पत्रकारिता अगाडि देखिएको बताए । उनले सत्यतथ्यमा भन्दा आरोप–प्रत्यारोप गालीगलौज तथा व्यक्तिको चरित्र हत्या गर्नेतर्फ उन्मुख पत्रकारिताले समाजमा रचनात्मक प्रभाव नदेखिने उल्लेख गरे । सञ्चारमन्त्री कार्कीले वर्तमान सरकार स्वतन्त्र प्रेस, मानवअधिकारको रक्षा र जनतालाई सुशासन प्रदान गर्न कहीँकतै नचुकेको औँल्याए । उनले लोककल्याणकारी विज्ञापनको समानुपातिक वितरण, नेपाल पत्रकार महासङ्घको आठ जिल्ला शाखा निर्माणमा प्रतिशाखा रु पाँच लाख वितरण, पत्रकारको उपचारमा ५० प्रतिशत छुटको व्यवस्था लागू गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए । त्यसैगरी, ३५ जिल्लामा सामुदायिक सूचना केन्द्र स्थापना गर्न सामुदायिक विद्यालयको छनौट, दूरसञ्चार पूर्वाधार, देशव्यापी ब्रोड व्यान्ड सेवा विस्तार, हुलाक, चलचित्र, मुद्रण र सार्वजनिक संस्थान, प्राधिकरण, समिति, बोर्डलगायतका कार्यकारी प्रमुखको नियुक्ति र मनोनयन प्रक्रिया अगाडि बढेको बताए । रासस

पत्रकारिता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की

विशेष