News

बढी भाडा असुल्ने ८ माइक्रो र ६ ठूला बस समातिए

बढी भाडा असुल्ने ८ माइक्रो र ६ ठूला बस समातिए
माघ - २२ । साँखुस्थित सालीनदीमा लाग्ने माधवनारायण मेलाको मौका छोपेर उपत्यकाका विभिन्न भागबाट साँखु चल्ने सार्वजनिक सवारी–साधनले तोकिएभन्दा बढी भाडा उठाएका छन् । मेलाको अवसरमा सालीनदी आउने भक्तजनसँग यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा उठाएको यात्रीको गुनासो छ । विभागले उपत्यकाको सहरी क्षेत्रमा १९ किमिभन्दा माथिको दुरीमा २४ भाडा तोके पनि साँखु बस व्यवसायी संघले सन्चालन गरेका सवारीमा रत्नपार्कदेखि साँखुसम्मको भाडा रु ३४ टाँसिएको छ । पछिल्लोपटक विभागले गतवर्ष माघ २४ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । विभागले भाडा समायोजन गरेपनि अनुगमन नगर्दा सवारीका परिचालकले मनलागेजति भाडा उठाउने गरेको सालीनदीमा स्नान एवं दर्शन गर्न आएकी पार्वती रेग्मीले बताइन् । ‘केही सवारीमा देखिने गरी भाडा सूची टाँसिएको छ, केहीमा भने सूची छैन, सूची नभएका सवारीका परिचालकले संघले तोकेको रु ३४ भाडाको वास्ता गरेका छैनन्, यो रुटमा पहिलोपटक हिँड्ने यात्रीको अनुहार हेरेर रु ५०० सम्म भाडा उठाइएको छ’–उनले भनिन् । संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ तोकिएभन्दा बढी भाडा असुल्ने आठओटा माइक्रो र ६ ओटा ठूला बसलाई समाती महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा बुझाइएको बताउँछन् । ‘बीचबाट चढ्ने यात्रीसँगसमेत २०० भाडा उठाएको प्रमाण हामीले फेलापारेका छौं, बढी भाडा लिने बा२ख ७२७२ नम्बरको बसलगायतलाई समातेर बुझाइएको छ, कारबाहीमा परेका सबै सवारीलाई रु पाँच हजार जरिवाना तिराइन्छ, नतिर्नेलाई सात दिनसम्म चल्न दिइन्न’–उनले भने । साँखुबाट रत्नपार्क, नयाँ बानेश्वर र सातदोबाटो रुटमा सवारी सन्चालन हुने गरेको छ । यो वर्षको माधवनारायण मेलाको आज अन्तिम शनिबार भएकाले सबैभन्दा बढी दर्शनार्थी सालीनदी आएको मेला व्यवस्थापन समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए । प्रत्येक वर्ष पुस शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म साँखुस्थित सालीनदीमा माधवनारायणको मेला लाग्नेगर्छ । रासस

बढी भाडा

विशेष