News

शिक्षकलाई अनावश्यक प्रश्न सोधेको भन्दै काठमाडौंकै निजी स्कुलमा छात्रलाई यस्तो सजाय

शिक्षकलाई अनावश्यक प्रश्न सोधेको भन्दै काठमाडौंकै निजी स्कुलमा छात्रलाई यस्तो सजाय

माघ २४ । काठमाडौंको धुम्बाराहीस्थित लुम्बिनी विगिनर्स एकाडेमीका प्रधानाध्यापकले कक्षा ९ मा अध्ययनरत सुदीप दाहाललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

कक्षामा प्रथम हुँदै आएका छात्र सुदीपले गणित शिक्षकलाई अनावश्यक प्रश्न सोधेको अभियोगमा प्लास्टिकको कालो पाइपले खुट्टा, तीघ्रा आदिमा छाला फाट्ने गरी कुटेका छन् ।

सुदीपका बाबु घनहरी दाहालले नेपालआजसँग भने, ‘छोराको स्कुलका प्रिन्सिपल सुरेश यादवले नै हिजो आइतबार कुट्नु भएको हो । फेरि नकुट्ने आश्वासन दिनु भएको छ ।’

उनले आज सोमबार पनि सुदीपलाई स्कुल पठाएका छन् । ‘फेरि कुट्ने हुन् कि भन्ने चिन्ता लागेको छ’ सुदीपका बाबुले भने ।

घनहरीले छोरामाथिको यस्तो अपराधविरुद्ध उजुरी दिने योजना नभएको बताएका छन् । घटनापछि विद्यालयका प्रिन्सीपलले उनीसँग कुराकानी गरेर विषय मिलाएको बताएका छन् ।

कुटेर यो अवस्थासम्म पुग्दा पनि प्रिन्सिपल यादव आफूले ठूलो गल्ति नगरेको दाबी गर्दै आएका छन् । नेपालआजसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘धेरै शिक्षकहरुलाई प्रश्न गरेर हैरान पारेकोले सामान्य नसिहत दिएको हुँ । कुनै अपराध होइन ।’

बालबालिकामाथि यातना दिएको कसुरमा तपाईमाथि कानुनी कारबाही पनि हुन सक्छ नी भन्ने प्रश्नमा उनले भने, ‘कसरी हुन्छ कानुनी कारबाही ? मैले सुदीपको बुवासँग कुरा मिलाइसकेको छु । अब हामीबीच कुरा मिलिसकेको छ भने अरु के कुरा ?’

विशेष