कभर स्टोरी मनोरञ्जन News

रमाइली रमा बन्दैछिन् केपी ओलीकी ‘हजुरआमा’ (भिडियो अन्तर्वार्ता)

रमाइली रमा बन्दैछिन् केपी ओलीकी ‘हजुरआमा’ (भिडियो अन्तर्वार्ता)


माघ २५ । १३ वर्षको उमेरमै उनको विवाह भयो । ‘अहिलेका केटीहरु बुझिसकेपछि विवाह गर्छन् र रुदैँ जान्छन् । त्यतिबेला त आफूलाई विवाहमा नयाँ लुगा र गहना लगाउन पाउँदा साह्रै रमाइलो लाग्यो ।’ उनले अनुहार हसिँलो बनाउँदै कलिलो उमेरमा गरेको विवाहको प्रसंग निकालिन् । त्यतीबेला विवाह गर्दा रमाएर गरे पनि श्रीमानको घर गएपछि भने मन पोल्न थाल्यो । उनी अर्थात् नेपाल टेलिभिजनमा कुनै बेला प्रशारण हुने ‘हिजोआजका कुरा’बाट चर्चा कमाएकी कलाकार रमा थपलिया ।

कुनै पनि कुरा लामो समयसम्म स्थिर रहन सक्दैन । नेपाल टेलिभिजनमा प्रशारण हुने टेलिश्रृंखला ‘हिजोआजको कुरा’ चल्तीमा हुँदा कलाकारको लागि चर्चित हुने एउटा गतिलो माध्यम बन्यो । त्यही टेलिफिल्मबाट उदाएका जितु नेपालदेखि माग्नेबुढासम्म अहिले देशका स्थापीत कलाकार भइसके । करिब १० वर्षसम्म एक क्षत्र राज गरेको उक्त टेलिश्रंखलाकी रमा थपलिया हिजो आज के गर्दै छिन् भन्नेबारे नेपाल आजले खाज्ने प्रयास गरेको छ ।

हिजोआजका कुराले दर्शकमाझ राम्रो छाप छोडेर गयो । फिल्मका निर्देशक तथा अभिनेता सन्तोष पन्तकी पत्नी बनेर भूमिका निर्वाह गरेकी रमा थपलियालाई हिजोआज टेलिफिल्ममा देखिन्नन् । टेलिफिल्म बन्द भएपछि उनी अहिले फट्टफुट्ट केही फिल्ममा अभिनय गर्छिन् र युट्युबमा प्रशारण हुने सर्ट फिल्महरुमा पनि उनी सक्रिय नै रहन्छिन् ।

पहिलाजस्तो व्यस्त नभएर उनको जीवन हिजोआज केही फुर्सदीलो छ । विगतमा निरन्तर रुपमा सुटिङमा व्यस्त हुँदाका यादहरु त आइ नै रहन्छन् उनलाई । घरमा बसेर फिल्मको लागि रात दिन नभनी सुटिङमा दौडेको, जंगलमा बास बसेका कुराहरु खुब सम्झिन्छिन् उनी ।


फिल्म खेल्ने इच्छा धेरै पहिलेदेखि भए पनि उचित अवसरको पर्खाइमा थिइन् उनी । फिल्ममा आउनु पहिला नर्सिङ कलेजमा काम गर्थिन् । त्यही समयमा एक शनिवार उनी गोरखापत्र पढेर बसेकी थिइन् । पत्रिकामा महादेव फिल्म प्रोडक्सनले मायाजाल भन्ने फिल्म बनाउन लागिरहेकाले कलाकारको आवश्यक्ता पर्यो भनेर लेखेका दखिन् । अवसरको पर्खाइमा रहेकी उनले तुरुन्तै सम्पर्क गरिन् ।

अडिसनको पहिलो चरणमै पास पनि भइन् । त्यसपछि शुरु भयो उनको अभिनय यात्रा । अहिलेसम्म अनवरत चलिरहेको छ । पारिवारिक वातावरण पनि उनको लागि बाधक बनेन । किनभने रमाको भावना, इच्छा र चाहनाअनुशारको काम गर्न उनका पतिले कहिले रोकेनन् । त्यो बेलासम्म छोराछोरी हुर्किसकेका थिए । उनका एक छोरा र दुई छोरी छन् ।

अभिनयका दौरान कतिपयले एक दिन भनेर २० दिनसम्म काममा लगाए । कसैले पैसा नदिने गर्थे । यस्तो देखेर पटक पटक अभिनय छाड्ने मुडमा पनि उनी पुगिन् । तर अभियनको नशा यति गहिरो पसेको थियो कि उनी त्यसबाट उम्किन सकिनन् ।

रमाको बुझाईमा अहिले समय फेरियो । उनी भन्छिन्, ‘अचेल फिल्ममा नयाँ भाइबहिनीहरु आउनु भएको छ । उहाँहरुमा व्यवसायिकता छ । कलाकारलाई पैसा दिनैपर्छ भन्ने छ । यो राम्रो पक्ष हो ।’

कलाकारको जीवन कहिलेकाही अस्पतालका कर्मचारीको जस्तै हुने । अस्पतालका कर्मचारीले चाडपर्व जे सुकै होस् काम गर्नुपर्छ । रमाको जीवनमा पनि त्यस्ता घटना धेरै भए ।

फिल्मको सुटिङका लागि बाहिर जानु पर्ने, घर फर्किँदा राति हुन्थ्यो । राति १२, १, २ बजे पनि घर फर्किनु पथ्र्यो । त्यो बेला घरपरिवारलाई कुनै समस्या हुने थिएन तर छरछिमेकी छक्क पर्थे । रमाले भनिन्, ‘राति २ बजे आउँछे त्यो पनि केटा लिएर भन्नेहरु पनि थिए ।’

राति घर फर्किनु पर्दा प्रोडक्सनका भाईहरु घरको ढोकासम्म झोला बोकेर पुर्याउँन आउँथे । घरका मान्छेले ढोका नखोलेसम्म पुर्याउन आउने मान्छे जाँदैनन् । त्यो देखेर अरुले गफ गर्ने विषय बनाउँथे ।

तर रमालाई यस्ता कुराले केही फरक पारेन । पार्नु पर्ने कुनै कारण पनि थिएन ।

कलाकारीतामा आएको नयाँ पुस्ताले काम राम्रो गरेको तर अनुशासनमा कमजोर हुँदै गएको रमाको अनुभव छ । उनी भन्छिन्, ‘हाम्रो पुस्ताका कलाकारमा भएका अनुशासन अहिलेका कलाकारमा छैैैन । अहिलेको पुस्तामा मै हुँ भन्ने भावना छ ।’

उनको जन्म रामेछाप भन्दा पनि टाढाको रामखोलातिर भएको थियो । पछि तराईमा बसाइ सर्यो । विवाह पछि रमाका पति पढ्न काठ्माडौं आए र उनी पनि सँगै आइन् । उनले पनि विवाह पछि पद्मकन्या विद्यालयमा अध्ययन गरिन् ।

हिजो आज उनलाई तीर्थव्रत गर्नमा बढि रुची छ । फिल्ममा फट्टफुट्ट काम पनि गर्ने र तीर्थ यात्रा गर्दै घुमफिर पनि गर्नाले जीवन सहज भएको उनको भनाइ छ । जति गर्नु दुःख गरियो अब बुढेसकाल लाग्यो र घुमफिर गरेर नै जीवन बिताउने उनको योजना छ ।

दर्शकहरुले सम्झिँदा उनलाई छुच्ची बुढी भनेर सम्झिन्छन् । तर, आफूले माया गर्ने, छुच्ची सबै खालको भूमिकामा काम गरे पनि दर्शकले सम्झिँदा छुच्ची नै सम्झिने बताइन् । आफैले आफ्नो मूल्यांकन गर्दा रमा रमाइली छिन् छुच्ची छैनन् ।

नेपाली फिल्म क्षेत्रको उनलाई एउटै गुनासो छ । भन्छिन्, ‘फिल्म लाइनमा लागेको मानिसले अहम नगरिदिए हुन्थ्यो जस्तो लाग्छ । किनभने जति नरम भयो त्यती नै राम्रो हुन्छ ।’ भावी योजनाका बारेमा उनी भन्छिन्,‘फिल्म डाइरेक्सन गर्दिन तर कसैले आदर गरेर बोलायो भने लौरो टेक्नेबेलासम्म फिल्म खेल्न तयार छु ।’

केपी ओलीको जीवनकथामा आधारित फिल्म ‘रातो सूर्य’मा उनी केपी ओलीको हजुरआमाको भूमिकामा देखिदैँ छिन् ।

nepali kalakaar rama thapaliya Rato Surya

विशेष