५ ठूला आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएपछि व्यवस्थापनमा सहज
माघ - २५ । पाँचवटा ठूला जलविद्युत् आयोजनालाई साँझको समयमा मात्रै पूर्ण क्षमतामा चलाउँदा विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्न सम्भव भएको छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको स्वामित्वमा रहेका काली गण्डकी ‘ए’, मर्स्याङ्दी, मध्य मर्स्याङ्दी, कुलेखानी पहिलो र दोस्रोलाई साँझको समयमा पूर्ण क्षमतामा सञ्चालन गरेको छ । ती आयोजनामध्ये काली गण्डकी ‘ए’ १४४ मेगावाट क्षमताको हो ।
दिनभर पानी जम्मा गर्ने र साँझको समयमा मात्रै आयोजना सञ्चालन गर्दा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने गरेको छ । 'पिकिङ रन अफ रिभर आयोजनालाई पूर्ण क्षमतामा चलाएका छौँ', प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, 'साँझको समयमा विद्युत् आपूर्ति गर्न सहज भएको छ ।'
यस्तै ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी, ६० मेगावाटको मर्स्याङ्दी, ६० मेगावाटकै कुलेखानी पहिलो र ३० मेगावाटको कुलेखानी दोस्रोबाट विद्युत् निरन्तर रुपमा उत्पादन गरिएको छ । नदीमा जलसतह घट्दै जाँदा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल अन्य आयोजनाबाट आन्तरिक उत्पादन ३५० मेगावाट मात्रै रहेको छ ।
तर साँझको समयमा प्राधिकरणले हाल दैनिक ९९० मेगावाट विद्युत् प्रवाह गराइरहेको छ । भारतबाट आयात भएको ३८० मेगावाट विद्युत् जोडिएको छ । कुल ३६६ मेगावाट अपुग हुँदासमेत व्यवस्थापन गरेर विद्युत् सहज रुपमा उपलब्ध गराइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हिउँदको समयमा नदीमा जलस्तर घटेको र उत्पादनसमेत घटिरहेको अवस्थामा साँझको समयमा काठमाडौँ उपत्यकाको विद्युत् मागमात्रै ३१५ मेगावाट रहेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार कुल मागमध्ये दुई तिहाइभन्दा बढी माग काठमाडौँ उपत्यकामा नै हुने गर्दछ ।
प्राधिकरणले काठमाडौँ उपत्यकाबाहेक अरु क्षेत्रमा समेत विद्युत्भार कटौतीलाई आधारभूत रुपमा अन्त्य गरेको छ । औद्योगिक करिडोरमा भने साँझ चार घन्टा दैनिक विद्युत्भार कटौती गरिएको छ ।
खिम्ती(ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौँको विद्युत् व्यवस्थापन गर्न सहज भएको प्राधिकरणको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले औद्योगिक क्षेत्रले सहज रुपमा विद्युत् पाउँदा २० अर्ब बराबरको बचत भएको जानकारी दिए ।
उनले व्यवस्थापनलाई थप सुदृढ बनाउन र प्राधिकरणलाई अत्यावश्यक सहयोग गर्न उद्योगी तथा व्यवसायीसमेत तयार रहेको बताए ।
प्राधिकरणले सञ्चालन गरेको विद्युत् चुहावट अभियान सार्थक रुपमा अगाडि बढ्दा हाल तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण गर्न सफल भएको जनाएको छ ।
मङ्सिर र पुसमा तीन प्रतिशत चुहावट नियन्त्रण गरिएको छ । गत साउनदेखि हालसम्म औसतमा दुई प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको र नियन्त्रण अभियानलाई निरन्तर अगाडि बढाएर चालु आवको अन्त्यसम्म ३।५ प्रतिशत विद्युत् चुहावट कम गर्ने लक्ष्य राखिएको छ ।
एक प्रतिशत मात्रै विद्युत् चुहावट नियन्त्रण गर्न सकिए ५० करोड बराबरको बचत प्राधिकरणलाई हुने घिसिङको भनाइ छ ।
प्राधिकरणले पछिल्लोपटक मात्रै २० हजार विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको छ । त्यसले पनि सकारात्मक सन्देश दिएको छ । हुकिङ गरेर विद्युत् चोरी गर्नेलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।
हुकिङ नियन्त्रण अभियान अगाडि बढाएको प्राधिकरणले औद्योगिक करिडोरमा हुने प्राविधिक चुहावट नियन्त्रण अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ ।
प्राधिकरणले भोल्टेजमा हुने उतार चढावलाई नियन्त्रण गर्न पावर बैंक राख्न उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।
प्रसारण लाइन, ट्रान्सफर्मर तथा भारतबाट आयात गरिएको विद्युत्मा कहिलेकाहीँ भोल्टेज तलमाथि हुँदा उद्योगले समस्या व्यहोरेपछि पावर बैंक राख्ने अवधारणा अगाडि सारिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले केही उद्योगले पावर बैंक राख्न सुरु गरेको बताउनुभयो ।
यस्तै प्राधिकरणले भोल्टेजलाई समान बनाउन सवस्टेसन तथा ट्रान्सफर्मरहरुमा समेत ‘स्टेपलाइजर’ राख्न सुरु गरेको छ । स्वच्छ ऊर्जा प्रदान गर्न त्यस प्रकारको उपकरणले सहयोग गर्ने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।
जलविद्युत् आयोजना