News

नियमले नदिए पनि उपप्राध्यापक नियुक्त गर्ने त्रिविको यो कस्तो ढिपी !

नियमले नदिए पनि उपप्राध्यापक नियुक्त गर्ने त्रिविको यो कस्तो ढिपी !

माघ २६ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले कम्प्युटर साइन्समा माग गरेको उपप्राध्यापक पदमा योग्यता नपुगेका उम्मेदवारहरुलाई नियुक्ति गर्ने तयारी गरेको छ ।

त्रिविको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले त्रिवि सेवा आयोगलाई उपप्राध्यापक नियुक्तिमा हुन लागेको त्रुटि सच्याउन गत असोज १४ गते पत्राचार पनि गरेको थियो । तर आयोगले आफ्नो कार्यक्रम रोकेको छैन ।

उपप्राध्यापक पदका लागि त्रिविको नियमानुशार उम्मेदवारले विज्ञान विषय लिएर प्रमाणपत्र तह, कम्प्युटर साइन्समा स्नातक र कम्प्युटर साइन्समा र आइटीमा स्नातकोत्तर गरेको हुनुपर्छ । अरु कुनै विषयमा प्रमाणपत्र तह र स्नातक गरेर स्नातकोत्तर तहमा कम्प्युटर साइन्स/आइटी गरेकाहरुलाई सामान्य अर्थमा ‘...तह सरह’ भन्ने तर मान्यता नदिने त्रिविको नियम छ । अरु विषयमा स्नातकसम्म गरेर स्नातकोत्तर एमसएससी आइटी गरेकाहरुलाई ‘ओपन स्ट्रीम’ भन्ने गरिन्छ ।

जसअनुशार अहिले कम्प्युटर साइन्सको उपप्राध्यापक पदका लागि मागिएको पदहरुमा तीन जना यस्ता उम्मेदवार छनोट भएका छन् जो ‘ओपन स्ट्रीम’ हुन् । उनीहरुको अन्तिम अन्तर्वार्ता बिहीबार हुँदैछ ।

त्रिविको नियमले नै नदिने उम्मेदवार छनोट गरिएको भन्दै त्रिवि सेवा आयोग, त्रिवि सूचना प्रविधि केन्द्रीय विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेग्लाबेग्लै उजुरी परिसकेको छ । तर पनि सेवा आयोगले अटेरी गर्दै बिहीबार अन्तर्वार्ता राखेको छ ।

यो प्रक्रियाविरुद्ध कम्प्यूटर विज्ञान आवद्ध शिक्षक तथा विद्यार्थीहरुले त्रिवि सेवा आयोगमा बिहीबार एक बजे घेराउको कार्यक्रम पनि राखेका छन् ।

विशेष