News

दिगो विकासका लागि सूचना प्रविधिलाई उपयोग गरिनुपर्छ – मन्त्री कार्की

दिगो विकासका लागि सूचना प्रविधिलाई उपयोग गरिनुपर्छ – मन्त्री कार्की
माघ–२६ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिगो विकासका लागि सूचना तथा प्रविधिलाई अधिकतम उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने– “सबै विकासका आयोजनासित सूचना प्रविधिलाई जोड्न सके ग्रामीण क्षेत्रको आर्थिक एवम् सामाजिक उन्नति हुनेछ, अन्ततः यसले दिगो विकासमा समेत सहयोग पुर्‍याउने छ ।” नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ग्लोवल आइसिटी कम्पनी हुवावेको आर्थिक एवम् प्राविधिक सहयोगमा बुधबार आयोजित ‘नेपाल ब्रोडब्यान्ड फोरम–२०१७’  उद्घाटन गर्दै मन्त्री कार्कीले सूचना तथा सञ्चारका प्रविधिलाई ग्रामीण क्षेत्रमा अधिकतम उपयोगको वातावरण बनाउन आवश्यक भएको बताए । सञ्चारका प्रविधि सहरी क्षेत्रमा केन्द्रित हुँदा सहरी र ग्रामीण क्षेत्र बीच खाडल रहेको चर्चा गर्दै उनले यसलाई न्युनिकरण गर्न ग्रामीण क्षेत्रमा प्रविधिको विस्तार गर्न आवश्यक रहेको बताए । उनले प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार कोषलाई अधिकतम रूपमा उपयोग गर्दै भ्वाइस, भिडियो, डाटासहितको ब्रोडब्यान्ड ग्रामीण क्षेत्रमा विस्तार गरी इ–शिक्षा, इ–स्वास्थ्यजस्ता पूर्वाधारको विकास गर्ने नीति सरकारको रहेको जानकारी दिए । मन्त्री कार्कीले भने– “युवापुस्तालाई आधुनिक सूचना प्रविधिसित थप परिचित गराउने कार्यक्रम ल्याउनुपर्छ ।” सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आइसिटी र ब्रोडब्यान्ड नीति २०१५ लाई कार्यान्वयन गर्न कार्ययोजना ल्याउन लागेको जानकारी दिँदै ग्रामीण क्षेत्रमा दूरसञ्चारको पूर्वाधार विकास र विस्तार गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिएको बताए । उनले सबै जिल्लालाई अप्टिकलफाइवरको सञ्चालनले जोड्ने काम भइराखेको जानकारी दिए । रासस

सुरेन्द्रकुमार कार्की सूचना प्रविधि

विशेष