News

पुनःसंरचना आयोगको प्रतिवदेनमाथि पाँच दलसँग छलफल

पुनःसंरचना आयोगको प्रतिवदेनमाथि पाँच दलसँग छलफल
माघ - २७ । प्रमुख पाँच राजनीतिक दलले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनलाई चाँडो अन्तिम रुप दिएर सरकारमा सुझाव पेस गर्न गठित समितिलाई निर्देशन दिएका छन् । सिंहदरबारमा २७ माघमा भएको छलफलमा पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्रिपरिषद्मा सुझाव पेस गर्न गठित समितिलाई सो प्रतिवेदनलाई अन्तिम रुप दिन निर्देशन दिएको हो । कार्यदलका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आयोगले दिएको प्रतिवेदनका विषयमा राजनीतिक दलसँग छलफल भएको बताए ।छलफलमा पुनःसंरचनामा देखिएका समस्या र समितिले गरेका प्रगतिका विषयमा जानकारी गराइएको थियो । राजनीतिक दलका नेताले विषयवस्तु स्पष्ट भएपछि निर्वाचनमा जान सहज हुने विश्वास लिएका छन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका नेता, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल, राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता जितेन्द्र देव सहभागी थिए । समितिले प्रदेश नं २ बाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदसंग फागुन १, २ र ३ गते छलफल गरेर प्रतिवेदनमाथि सुझाव दिने तयारी गरेको छलफलमा जानकारी गराएको थियो । प्रतिवेदनबारे प्राप्त गुनासा अध्ययन गरी सुझाव दिन सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री पाण्डेको संयोजकत्वमा उद्योगमन्त्री नवीन्द्रराज जोशी र आपूर्तिमन्त्री दीपक बोहोरा सदस्य रहेको एक समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदनबारे प्राप्त गुनासा अध्ययन गरी सुझाव पेस गर्न १५ दिनको समयसीमा दिइएको छ । रासस

पुनःसंरचना आयोग

विशेष