News

स्कुटर दुर्घटनामा अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु

स्कुटर दुर्घटनामा अनेरास्ववियुका केन्द्रीय सदस्य राईको मृत्यु
माघ - २७ । काठमाडौंबाट खोटाङ जाँदै गर्दा स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राई (२७)को बिहीबार मृत्यु भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गृह जिल्ला खोटाङ जाँदै गरेका उनी मंगलबार भक्तपुरको गट्ठाघरमा बिहान साढे चार बजे स्कुटर दुर्घटनामा परी गम्भिर घाइते भएका थिए। घाइते राईको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहीबार मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते राईको अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। पछि पेटमा समेत समस्या देखिएपछि बुधवार राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको थियो। टाउको र ढाडमा गहिरो चोट लागेका राईको फोक्सोमा समस्या देखिएको थियो। खोटाङ लामिडाँडा निवासी राई स्ववियु निर्वाचनको परिचालनका लागि खोटाङ हिडेको अनेरास्ववियुले जनाएको छ। उनी खोटाङ जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए। उनी खोटाङ २ नम्बर क्षेत्रबाट निर्वा्चित एमाले सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईका स्वकीय सचिव समेत थिए। उनीसँगै स्कुटरमा सवार रविन राईको हात भाँच्चिएको र उपचार भइरहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए। सडकछेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो।

अनेरास्ववियु

विशेष