News

अयोग्य उम्मेदवारलाई जबर्जस्ती अन्तर्वार्तामा बोलाएपछि त्रिविमा बबाल

अयोग्य उम्मेदवारलाई जबर्जस्ती अन्तर्वार्तामा बोलाएपछि त्रिविमा बबाल

माघ २७ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले कम्प्युटर साइन्समा माग गरेको उपप्राध्यापक पदमा योग्यता नपुगेका उम्मेदवारहरुलाई नियुक्त गर्ने तयारी गरेपछि सरोकारवालाहरु आन्दोलित भएका छन् ।

त्रिविको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभागले त्रिवि सेवा आयोगलाई उपप्राध्यापक नियुक्तिमा हुन लागेको त्रुटि सच्याउन गत असोज १४ गते पत्राचार पनि गरेको थियो । तर आयोगले आफ्नो कार्यक्रम नरोकी अगाडि बढाउन खोजेपछि विद्यार्थी र एमएससी आईटी क्षेत्रका व्यक्तिहरु आन्दोलित भएका हुन् ।

सिएसआइटी आबद्ध शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरुले बिहीबार यस्तो त्रुटिपूर्ण प्रक्रियाको विरोध गर्दै त्रिवि सेवा आयोगको कार्यालय कीर्तिपुरमा दुई घण्टा धर्ना दिएका छन् ।

उपप्राध्यापक पदका लागि त्रिविको नियमानुशार उम्मेदवारले विज्ञान विषय लिएर प्रमाणपत्र तह, कम्प्युटर साइन्समा स्नातक, कम्प्युटर साइन्स र आइटीमा स्नातकोत्तर गरेको हुनुपर्छ । अरु कुनै विषयमा प्रमाणपत्र तह र स्नातक गरेर स्नातकोत्तर तहमा कम्प्युटर साइन्स र आइटी गरेकाहरुलाई सामान्य अर्थमा ‘‘...तह सरह’ भन्ने तर मान्यता नदिने त्रिविको नियम छ । अरु विषयमा स्नातकसम्म गरेर स्नातकोत्तर एमसएससी आइटी गरेकाहरु ‘ओपन स्ट्रीम’हरुका लागि यस्तो विज्ञापनमा प्रतिस्पर्धा गर्ने अधिकार हुँदैन ।

जसअनुशार अहिले कम्प्युटर साइन्सको उपप्राध्यापक पदका लागि मागिएको पदहरुमा केही ओपन स्ट्रीम उम्मेदवार छनोट भएका छन् । उनीहरुको अन्तिम अन्तर्वार्ता शुक्रबार हुँदैछ ।

त्रिविको नियमले नै नदिने उम्मेदवार छनोट गरिएको भन्दै त्रिवि सेवा आयोग, त्रिवि सूचना प्रविधि केन्द्रीय विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेग्लाबेग्लै उजुरी परिसकेको छ । तर पनि सेवा आयोगले अटेरी गर्दै शुक्रबार अन्तर्वार्ता राखेको छ ।

विशेष