News

बागमतीमा फोहर फाल्नेलार्इ ड्रोन क्यामेराबाट निगरानी गरिने

बागमतीमा फोहर फाल्नेलार्इ ड्रोन क्यामेराबाट निगरानी गरिने
माघ - २९ । बागमती सफाइ महाअभियान सुरु भएको १९६औं हप्ता बित्दासमेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्वीर खिच्न थालिएको छ । दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले शनिबार (माघ २९)देखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्वीर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताए । ‘गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौं महानगरपालिकाको सिनामंगलदेखि मीनभवनसम्म र काठमाडौं महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्वीरमार्फत् उतार्न सरकारसँग स्वीकृति लिइएको छ–उनले भने । ड्रोन क्यामेराले खिचेको तस्वीरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपािलका र नगरपालिकामा बुझाइने भएको छ । ड्रोन क्यामेराले खिचेको तस्वीरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको छ । ड्रोन क्यामेराबाट तस्वीरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौं आएको छ । प्रत्येक हप्ताको शनिबारझैं शनिबार पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९६औं हप्तामा शनिबार मीनभवन पुल क्षेत्रमा सफाइ गरी १६ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको बागमती सफाइका अभियन्ता उमेश बोहराले बताए । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० बढी व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, जीवन विज्ञान नेपालका एलपी भानु शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार भट्टराईलगायतले गरेका थिए । सफाइसँगै एक समूहले घर दैलोमा गइ जनचेतामूलक अभियान सन्चालन गर्नेक्रममा मीनभवन क्षेत्रको सडक किनारमा फोहर फाल्नेबाट रु १५ हजार जरिवानास्वरुप उठाइयो । रुद्रमती सफाइको १५६औं हप्तामा शनिबार भत्केको ९पहेंलो०पुलदेखि कालोपुलसम्मको क्षेत्रमा सफाइ गरी चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । सफाइमा काठमाडौं महानगरपालिकाका वडा नम्बर–४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीलगायतको सहभागिता थियो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, नेपाल प्रहरी, सामुदायिक प्रहरी, विपद् व्यवस्थापन प्रहरी, नेप्से म्याक प्रालिलगायतको सहभागिता थियो । सो अवसरमा प्रसिद्धि कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना गर्‍यो । विष्णुमती सफाइको १२८औं हप्तामा शनिबार तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाइमा स्थानीयवासी उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताए । स्थानीय वृद्धको समूहले भजनसहितको जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेका थिए । तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा सफाइ सन्चालन गरिएको थियो । नख्खु खोला सफाइको ७१औं हप्तामा शनिबार नख्खु पुल वारिपारि सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बलुदेव पाण्डेले बताए । यसैगरी, गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्नसमेत स्थानीयवासी जुटेका छन् ।
पूर्णप्रसाद मिश्र 

bagmati Drone Camera

विशेष