News

इन्टरपोलको सहयोगमा अठार वर्षपछि फरार साउदीबाट पक्राउ

इन्टरपोलको सहयोगमा अठार वर्षपछि फरार साउदीबाट पक्राउ
फागुन–१ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) ले इन्टरपोलको सहयोगमा अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका एक दोषीलाई साउदी अरबबाट पक्राउ गरेको छ । झापाको चारआली ब्यारेकमा सिपाही पदमा रहेका नारायण अधिकारीले कास्की सिद्ध–७ निवासी शिव थापालाई २०५५ कार्तिक ११ गते हत्या गरेर फरार भएका थिए । ब्युरोको अनुसन्धानले नारायण अधिकारी, तत्काल नेपाली सेनामा कार्यरत नारायण बहादुर अधिकारी र वैदेशिक रोजगारको लागि साउदी अरब गएका जीवन बहादुर अधिकारी एकै व्यक्ति भएको प्रमाणित गरेको थियो । सोही आधारमा कास्की जिल्ला अदालतबाट मिति २०७३ जेष्ठ १६ गते जारी भएको पक्राउ पूर्जि अनुसार उनलाई अरबबाट पक्राउ गरी माघ २९ गते शनिबार नेपाल ल्याइएको विज्ञप्तिमा जनाइएको छ । अदालतबाट दोषी ठहर भएका उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी खोजी गरिरहेको थियो । २०५७ वैशाख १९ गते कास्की जिल्ला अदालतले सिद्ध गाविस स्थायी ठेगाना भई सिंहनाथ गण चारआली ब्यारेकमा कार्यरत सिपाही अधिकारीलाई सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो । श्रीमति जिस्काउनेलाई प्रहार २०५५ साल कार्तिक ११ गते जिल्ला कास्की सिद्ध गाबिस वडा नं. ७ बस्ने शिबराज थापा सुयलले गाँऊ नजिकैको वनमा घाँस दाउरा लिन गएको वेला नारायण अधिकारीकी श्रीमती इन्दिरा अधिकारीलाई अभद्र ब्यबहार गरेका थिए । श्री सिंहनाथ गण, चारआली ब्यारेक झापाका सिपाही अधिकारीलाई श्रीमतीले फोन गरेर सो कुराको जानकारी दिएकी थिइन् । २०५५ कार्तिक १२ गते घर आएका बेला कार्तिक १५ गते बिहान बिद्री खोला भन्ने ठाउँमा शिबराज थापा सुयलसँग भेट भएको थियो । त्यति बेला दुई पक्षबीच विवाद हुँदा अधिकारीले खुर्पा प्रहार गरी शिबराज थापा सुयलको हत्या गरेका थिए । अधिकारीले लुगामा लागेको रगत खोलामा पखाली ब्यारेकमा हाजिर भएको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि उनलाई सेनाको हिरासतमा राखिएको थियो । २०५६ फागुन २७ गते राती सेनाको हिरासतबाट उनी भागेका थिए । त्यसपछि नाम परिवर्तन गरी जीवनबहादुर अधिकारीको नाममा कास्की जिल्ला प्रशासन कार्यालयबाट २०६८ असार १४ गते नागरिकताको प्रमाण(पत्र निकालेका थिए । राहदानी विभाग काठमाडौंबाट मिति २०६८ असार ३१ गते राहदानी प्राप्त गरी २०७० जेठ ११ गते वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए । कैद भुक्तानका लागि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले विज्ञप्तिमा जनाएको छ ।

इन्टरपोल कास्की नारायण अधिकारी हत्या प्रकरण

विशेष