News

चन्दलाई बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश

चन्दलाई बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगराउन आदेश
फागुन २ – सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन सोमबार अर्को अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रहरी नायब महानिरीक्षक चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले चन्दलाई महानिरीक्षक पदमा बढुवा गरेको थियो । निर्णयविरुद्ध महानिरीक्षकका आकाङ्क्षी प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आइतबार नै आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । त्यसमाथिको प्रारम्भिक सुनुवाइपछि सोमबार तत्काल नियुक्त नगर्न आदेश दिइएको हो । प्रहरी महानिरीक्षकमा नियुक्ति गर्दा प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम ज्येष्ठतालाई ध्यान दिनुपर्ने भएको जनाउँदै चन्दको नियुक्ति खारेजी र आफूलाई महानिरीक्षक बनाउनुपर्ने माग निवेदनमा उल्लेख छ ।  शुक्रबार अधिवक्ता कपिलदेव ढकालले ज्येष्ठताका आधारमा कानुनसम्मत महानिरीक्षक बनाउनुपर्ने हुँदा चन्दलाई महानिरीक्षक नबनाउन दायर गरेको निवेदनमाथि आइतबार सुनुवाई हुँदा चन्दलाई नेपाल महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिइएको थियो । दुवै निवेदनमाथि अदालतले यही फागुन ८ गतेसम्म पुनःसुनुवाइ गर्नेछ । निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा निष्कर्ष निकालिनेछ ।

Jay Bahadur Chandra

विशेष