News

गाम्का नेपाल र बायोमेट्रिक प्रणाली खारेज गर्न ७ दिने अल्टिमेटम

गाम्का नेपाल र बायोमेट्रिक प्रणाली खारेज गर्न ७ दिने अल्टिमेटम
फागुन – ३ । वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी संघर्ष समितिले ७ दिनभित्र गाम्का नेपाल र बायोमेट्रिक प्राणालीले गर्ने स्वास्थ्य परीक्षण प्रक्रिया खारेज नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । संघर्ष समितिका संयोजक सीताराम रेग्मीले नेपाल सरकारले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट प्रणाली लगाएर दुई हजार नौ सयमा गरिने स्वास्थ्य परीक्षण आज भोलि १४ हजार लिने गरेको आरोप लगाउँदै यस कार्यलाई सोझो ठगिको संज्ञा दिए । संयोजक रेग्मीले भने,‘बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्ध राख्दैन् तर यसलाई श्रममन्त्रालय र श्रम सचिवले कानुन विपरीत लागू गरेका छन्, यो वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी र सम्बन्धित परिवारको भोको पेटमा लात हान्ने काम भइरहेको छ, अब हाम्रा मागहरू पूरा नगर्ने र हाउगुजिको नाटक देखाएर नियम मिच्नेको गर्दनमा हामी पनि लात हान्छौँ ।’ संयोजक रेग्मीले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिसा र फ्रि–टिकटको बकम्फुसे नारा लगाइरहेको आरोप लगाए । उनले भने, ‘सरकारले फ्रि–टिकट र फ्रि–भिसाको नाम दिइरहेको छ, तर व्यवसायीहरूले १ लाख देखि ४ लाखसम्म लुटिरहेका छन् ।’ नेपाल मेडिकल महासङ्घका महासचिव जीवन बयलकोटीले बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सरकारको आँखामा छोरो हालेर सोझो ठगि धन्दा गरिरहेको आरोप लगाए । उनले भने, ‘बायोमेट्रिक प्राणाली र गाम्का नेपालले सिण्डिकेट खडा गरेका छन्, आज श्रम मन्त्रालयले स्वाथ्य क्लिनिकको परीक्षण गर्ने नाममा भष्ट्राचार गरिरहेको छ ।’

गाम्का नेपाल बायोमेट्रिक

विशेष