News

जनसंख्याको तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गरिने, परिषद्मा ७ जना विज्ञको नियुक्ति

जनसंख्याको तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गरिने, परिषद्मा ७ जना विज्ञको नियुक्ति
फागुन – ३ । राष्ट्रिय जनसंख्या परिषद्ले जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने निर्णय गरेको छ । परिषद्ले जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकहरुलाई संघीय संरचनाअनुसार व्यवस्थित र विद्युतीय अभिलेखीकरण गर्ने भएको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बसेको जनसंख्या परिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण हुने भन्दै तथ्यांकलाई आधुनिकीकरण गर्दै लैजाने बताए । उनले जनसंख्या नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवन पद्दति कायम गर्न सकिने विश्वास व्यक्त गरे । ‘संघीय संरचनाअनुसार जनसंख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरणले यसमा आधुनिक अभिलेखको व्यवस्था हुनेछ,’ – उनले भने । बैठकले राष्ट्रिय जनसंख्या परिषद्मा ७ जना विज्ञ सदस्यको नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा २०६५ पछि विशेषज्ञ नियुक्त हुन सकेका थिएनन् । मन्त्रिपरिषद् बैठकले माधव कार्की, दिनेश भुजू, सिद्धार्थबज्र बज्रचार्य, रमेशप्रसाद भुसाल, कुशल गुरुङ, निता सिंह र कृष्णबदन नकर्मीलाई परिषद्को विज्ञ सदस्यका रुपमा नियुक्त गरेको हो । सदस्यहरुको अवधि तीन वर्षको हुन्छ । कार्यक्रममा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी र अन्य मन्त्री लगायतको उपस्थिति थियो ।

राष्ट्रिय जनसंख्या परिषद् संघीय संरचना

विशेष