विदेश

शशिकलाको तमिलनाडुको मुख्यमन्त्री बन्ने प्रयास ‘समाप्त’, १० वर्षसम्म राजनीतिबाट टाढा रहनुपर्ने

शशिकलाको तमिलनाडुको मुख्यमन्त्री बन्ने प्रयास ‘समाप्त’, १० वर्षसम्म राजनीतिबाट टाढा रहनुपर्ने
फागुन ३ । भारतको सर्वोच्च अदालतले तमिलनाडु राज्यको सत्तारुढ एआइएडीएम पार्टीकी नेत्री शशिकला नटराजनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षका जेल सजाय सुनाएको छ । अदालतले शशिकलाले आयभन्दा वढी सम्पत्ति आर्जन गरेको आरोपमा सजाय सुनाएको हो ।
तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री जयललितासँगै शशिकलालाई आम्दानीभन्दा बढी सम्पत्ति देखिएकोमा उच्च अदालतको फैसला उल्टाएर सर्वोच्चले मंगलबार दोषी ठहर गरेको हो । जयललिताको भने गत डिसेम्बरमा निधन भइसकेको छ । मुद्दा दायर भएको १९ वर्षपछि भएको यो फैसलासँगै शशिकलाको मुख्यमन्त्री बन्ने प्रयास समाप्त भएको छ । उनी निधन भएकी तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको नजिकको सहयोगी र लामो समयसम्म सहकार्य गरेकी नेत्री हुन् । जयललिताको निधनपछि उनले पार्टीको नेतृत्व सम्हालेकी थिइन् । राजनीतिक अनुभव नभएपनि उनलाई गत हप्तामात्र तमिलनाडुको सत्तारुढ पार्टीले नेता चयन गरेको थियो । र उनलाई राज्यको मुख्यमन्त्री बन्ने बताएको थियो । तर, कार्यबाहक मुख्यमन्त्री ओ पनिरसेल्भाम शशिकलाविरुद्ध उत्रिएपछि त्यहाँको राजनीतिले नयाँ मोड लिएको थियो । उनले शशिकलाका लागि मार्ग प्रशस्त गर्न आफूलाई राजीनामा दिन लगाएको आरोप लगाउँदै आएका थिए । तर, अब मुख्यमन्त्रीको पदको दाबेदार उनी नै हुने अनुमान गरिएको छ । भारतीय कानुनअनुसार भ्रष्टाचारको मुद्दामा दोषी ठहर व्यक्तिले जेल सजाय पूरा गरेपछि पनि ६ वर्षसम्म निर्वाचनमा भाग लिन बन्देज लगाएको छ । यसबाट शशिकला आगामी १० वर्षसम्म राजनीतिबाट टाढा रहनुपर्ने भएको छ ।

शशिकला नटराजन

विशेष