विदेश

उत्तर कोरियाली राष्ट्रपति किमका दाजुको हत्याको आरोपमा एक महिला पक्राउ

उत्तर कोरियाली राष्ट्रपति किमका दाजुको हत्याको आरोपमा एक महिला पक्राउ
फागुन – ४ । उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेला दाजु किम जोङ नामको हत्याको आरोपमा एक महिलालाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । मंगलबार मलेसियाको कोलालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात दुई महिलाले उनीमाथि विष आक्रमण गरेका थिए । उक्त घटनामा संलग्न भएको आशंकामा म्यानमारको राहदानी भएकी एक महिलालाई विमानस्थलबाट पक्राउ गरी अनुसन्धान थालिएको मलेसियाको सरकारी समाचार एजेन्सी जनाएको छ । प्रहरी अधिकारीका अनुसार किमको हत्याको आरोपमा २८ वर्षीया महिला डोयन थी हुङलाई सिसिटिभी फुटेजको माध्यमबाट पहिचान गरी पक्राउ गरिएको हो । उक्त घटनामा संलग्न एक महिलाको खोजी भइरहेको मलेसियाली अधिकारीहरुले जनाएका छन् । मकाउ जाने तरखरमा रहेकोबेला ४५ वर्षीय किममाथि विष आक्रमण भएको थियो । विष आक्रमणपछि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । उनको शवको पोस्टमोर्टम भइरहेको छ । यस घटनाका सम्बन्धमा मलेसिया सरकारलले औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन । त्यस्तै उत्तर कोरियाले उनको हत्याको विषयमा कुनै प्रतिक्रिया नजनाएपनि किमको शव राखिएको अस्पतालमा भने मलेसियास्थित उत्तर कोरियाली राजदूत पुगेका छन् । किम जोङ नाम उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलका जेठो छोरा हुन् ।  उनी सन् २००१ मा जाली पासपोर्ट लिएर जापान प्रवेश गर्न लाग्दा पक्राउ परेका थिए ।

उत्तर कोरिया किम जोङ उन किम जोङ नाम

विशेष