News

वायुसेवा प्रतिबन्ध हटाउन परराष्ट्रमन्त्रीको अनुरोध

वायुसेवा प्रतिबन्ध हटाउन परराष्ट्रमन्त्रीको अनुरोध
फागुन - ५ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जंकरसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री डा। महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापारलगायतका क्षेत्रमा युरोपेली संघको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरे । युरोपेली संघको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउँदै अध्यक्ष जंकरले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिए । नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायुसेवालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जंकरलाई अनुरोध गरे । अध्यक्ष जंकरले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि डा महतलाई आश्वासन दिलाए । डा महतले अध्यक्षलाई नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे पनि जानकारी दिए । डा महतले विहीबार लक्जेम्बर्गमा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री तथा विकास सहयोगमन्त्रीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

डा प्रकाशशरण महत

विशेष