News

हिमालय चिनी मिल सञ्चालनमा आएपछि किसान उत्साहित

हिमालय चिनी मिल सञ्चालनमा आएपछि किसान उत्साहित
फागुन–६ । केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिन्छन् । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनी उखुखेती गर्न उत्साहित भएका हुन् । विगतमा नजिकमा चिनी मिल नभएका कारण उनलाई उखु ढुवानी गर्न कठिनाई हुने गरेको थियो । मिलबाट उचित मुल्य नपाएका कारण पनि उनी निराश थिए । ‘कष्ट खेपेर उखु चिनी मिलसम्म पु¥याएपनि मिलले समयमा रकम दिँदैनथ्यो,’ महतोले भने । गाउँमै चिनी मिल खुलेपछि अब उनलाई उखु अन्यत्र पुर्याउनुपर्ने बाध्यता छैन । ‘उखु ढुवानी गर्न सहज भएको छ,’ उनले भने । हिमालय चिनी मिलबाट समयमै उखुको मुल्य पाउन थालेकाले उखुखेती गर्न उत्साह बढेको उनको भनाइ छ । जिल्लामा चिनी मिल नुहँदा महोत्तरीको एभरेष्ट चिनी मिलसम्म उखु पुर्याउँदै आएका बिष्णुपुरका सन्तलाल साह पनि गाउँ नजिकै चिनी मिल खुलेपछि खुसी छन् । ‘मिलले समयमा उखुको मुल्य नदिँदा उखुखेती नै छाड्ने अवस्थामा पुगेको थिए,’ उनले भने । आफ्नै गाउँमा चिनी मिल खुलेपछि उखुको ढुवानी सहज र सस्तो भएको चन्द्रअयोध्यापुरका सोभित महतोको भनाइ छ । चन्द्रयोध्यापुरमा हिमालय चिनी मिल सञ्चालनमा आएपछि सिरहा र सप्तरीका उखु किसान हर्षित भएका छन् । सो मिलले गत मङ्सिर २० गतेदेखि चिनी उत्पादन थालेको हो । उक्त मिलले करिब ३५० जनालाई रोजगारी दिएको छ । मिल सञ्चालन भएको दुई महिनाकै अवधिमा २० हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गरेको मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए । किसानलाई समयमा उखुको सुपथ मूल्यसँगै बीउ तथा सिँचाइ सुविधामा अनुदान दिँदै आएको उनी बताए । सो मिलले अहिले उखु प्रतिक्विन्टल पाँच सय १७ मा खरिद गर्दै आएको छ । सिरहासहित सप्तरी, धनुषा, सर्लाहीका साथै छिमेकी मुलुक भारतका कतिपय ठाउँबाट समेत उखु मिलसम्म ल्याउने गरिएको छ । जिल्लामा करिब २५ हजार बिगाहा जग्गामा उखु खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस

किसान सिरहा हिमालय चिनी मिल

विशेष