पत्रकार महासंघ कार्यालयको तालाबन्दी खुल्यो
फागुन–६ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासंघ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो ।
महासंघ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको थियो । सहमतिपत्रमा युनियनले सरोकार राखेका विषयलाई सम्बोधन गर्दै महासंघले शुक्रबारै विज्ञप्ति जारी गर्ने र युनियनले महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ ।
ताला खोलेपछि महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासंघले बुझेको बताउँदै महासंघ सबैको साझा संस्था भएकोमा जोड दिए । युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाईमात्र महासंघको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिए ।
महासंघले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको थियो । रासस
तालाबन्दी
नेपाल पत्रकार महासंघ