News

नेपाल र बंगलादेशकाे सूचना आयोगबीच सात बुँदे समझदारी

नेपाल र बंगलादेशकाे सूचना आयोगबीच सात बुँदे समझदारी
नेपालको राष्ट्रिय सूचना आयोग र बंगलादेशको सूचना आयोगबीच सहयोगको आदानप्रदान गर्न सात बुँदे समझदारी भएको छ । नेपाल र बंगलादेशबीच भएको उक्त समझदारीपत्र (एमओयु)मा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र बंगलादेशको सूचना आयोगका प्रमुख सूचना आयुक्त प्रा. डा. मोहम्मद गोलम रहमानले हस्ताक्षर गरेका हुन् । सो समझदारीपत्र पाँच बर्षकालागि हुनेछ र नवीकरण गर्न सकिने प्रावधानसमेत रहने सूचना आयोगले जनाएको छ । समझदारीपत्र अनुरुप दुई देशका आयोगसम्बद्ध उच्च पदाधिकारीहरुले नियमितरुपमा भेटघाट, आपसी विज्ञता, अनुभव र मानव संसाधनको बिकास सम्बन्धी सहयोगको आदानप्रदान गर्नु पर्ने छ । साथै, विभिन्न अन्तक्रिया कार्यक्रम गर्नुकासाथै सूचना प्रबिधिका क्षेत्रमा सहयोगको आदानप्रदान हुनेछ । बंगलादेशको ढाकामा आयोजित समारोहमा सम्बोधन गर्दै प्रमुख आयुक्त बाँस्कोटाले नेपालको संबैधानिक व्यवस्था, कानूनी प्रावधान, आयोगको महत्वपूर्ण उपलब्धिहरु र दुई देशबीच सहयोगको आदानप्रदान गर्न सकिने क्षेत्रहरुकाबारेमा चर्चा गरे । बंगलादेशका प्रमुख सूचना आयुक्त प्रा. डा. रहमानले दुई आयोगबीच समझदारीपत्रमा हस्ताक्षर गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपाली प्रतिनिधि मण्डलले ढाकामा रहँदा सूचनामन्त्री हसनुल हक इनु र बंगलादेश सरकारका मुख्य सचिव मोहम्मद सफिउल अलामसँग भेट गरी द्विपक्षिय हितका साथै दुई देशका आयोगले मिलेर तामिल कार्यक्रम आयोजना गर्ने, सूचनाको हकका क्षेत्रमा सार्कस्तरीय स्थिति सम्बन्धी अनुसन्धान गर्ने, आरटिआई बजेट र आरटिआई अडिटमा पहल गर्ने तथा अनलाईन सूचना प्रवाह गर्ने पद्धतिलाई सुदृढ गर्ने सम्बन्धमा गहन छलफल गरेका आयोगले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रिय सूचना आयोग

विशेष