विदेश

पाकिस्तानः छापामार अपरेसनमा ३९ संदिग्ध आतंककारी मारिए

पाकिस्तानः छापामार अपरेसनमा ३९ संदिग्ध आतंककारी मारिए
फागुन - ६ । पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणमा पर्ने सेहवान नगरमा अवस्थित प्रसिद्ध लाल शाहवाज कालन्दर मस्जिदमा विहीबार दिउँसो नमाज पढ्दै गरेका सिते समुदायका सुफी भक्तजनको भीडमा एकजना आत्मघाती आक्रमणकारी प्रवेश गरी शक्तिशाली बम बिस्फोट गराउँदा घटनास्थलमै ७५ जनाको विभत्स मृत्यु हुनाका साथै अन्य सयौं घाइते भएका थिए ।

अन्तरराष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले सिते समुदायका मुस्लिमलाई सखापै पार्ने योजनाअनुरुप सो घटना गराएको भनी दाबी गरेको थियो । घटनापश्चात् पाकिस्तानी सुरक्षाकर्मी तत्कालै परिचालित भइ आतंककारीको तीव्र खोजीमा प्रयासरत् थिए । यसैबीच, सुरक्षाकर्मीले आशंकित स्थानमा रातभरि छापा मारी शुक्रबार बिहान केही सिन्ध निवासीसहित ४७ जना संदिग्ध सशस्त्र आतंककारीलाई पक्राउ गरी नियन्त्रणमा लिएको सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा जानकारी दिएका छन् । विगतका धेरै वर्षदेखि पाकिस्तानी सेना र सुरक्षाकर्मीले सशस्त्र विद्रोही तथा आतंककारीको खोजी र नियन्त्रणमा थुप्रै अपरेसन सन्चालन गर्दै आइरहेका छन् । समग्र राष्ट्रलाई नै क्षणभर मै स्तब्ध तुल्याउने यस आतंककारी आक्रमण र आमहत्या विगतका वर्षौंदेखि यताको पहिलो भयानक र विभत्स घटना भएको र यसले सिंगो राष्ट्रको सुरक्षा व्यवस्थामा अधिकारीको क्षमतामै एक गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । यसैबीच, संदिग्ध आतंककारी लुकेर अखाडा जमाएका स्थानमा पाकिस्तानी सुरक्षाकर्मीले चलाएका देशव्यापी छापामार अपरेसन अभियानमा कम्तीमा ३९ जना संदिग्ध सशस्त्र आतंककारीले ज्यान गुमाएका जनाइएको छ । एपी

पाकिस्तान

विशेष