News

भारतद्वारा ५४ करोड १० लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता

भारतद्वारा ५४ करोड १० लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता
फागुन–६ । नेपालका लागि भारतीय राजदूत रञ्जित रे तराईका विभिन्न जिल्लाको दुई दिने भ्रमण गरि काठमाडौं फर्किएका छन् । उनी दुई दिनको भ्रमणमा सिन्धुली, सर्लाही र रौटहट पुगेका थिए ।
भ्रमणको क्रममा राजदूत रेले शुक्रबार सर्लाहीमा १ करोड ७ लाखमा निमार्ण सम्पन्न भएको श्री जनता माध्यमिक विद्यालयको भवनको उद्घाटन गरे । सो अवसरमा राजदूत रेले सर्लाही जिल्लालाई भारतको सहयोगमा भएको साना विकास कार्यक्रमले फाइदा पुर्याएको बताएका छन् । सर्लाहीमा ७ आयोजना पूरा भएको र अन्य १२ आयोजना हुन बाँकी रहेको भारतीय उनले जानकारी गराए । उनले विभिन्न आयोजनाको लागि भारतले ५४ करोड १० लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । साथै राजदूत रेले कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई कक्षा ११ र १२ को लागि महात्मा गान्धी छात्रवृत्ति प्रदान गराउने बताए । त्यसैगरि उनले रौटहटमा श्री उच्च माध्यमिक विद्यालयको लागि ४ करोड ४० लाखको आर्थिक सहयोग प्रदान गरेका छन् । रौटहटमा भारतीय सरकारले आर्थिक सहयोगमा ४ पूरा भइसकेको र १ हुँदै गरेको आयोजनाको लागि १० करोड ८० लाख रुपैयाँ प्रदान गराइसकेको छ । साथै स्वास्थय र शिक्षासँग आबद्ध संस्थालाई १५ एम्बुलेन्स र २ वटा बस पनि प्रदान गरिसकेको छ । बिहीबार राजदूत रे सिन्धुली पुगेर ३ तल्ले सिन्धुली सामुदायिक प्रविधि शिक्षालयको निर्माणमा हस्ताक्षर गरे । १९ वटा कोठा रहेको उक्त भवनको निर्माण ४ करोड ४० लाखमा बन्न लागेको हो । उक्त भवन १५ महिनामा निर्माण हुने बताइएको छ । उक्त अवसरमा भारत सरकारले सिन्धुलीमा भएको ५ आयोजनामा १० करोड ९० लाख आर्थिक सहयोग गरेको जानकारी गराइएको थियो । आयोजना मध्ये ४ वटा अझै पूरा हुन बाँकी छन् । त्यस्तै जिल्लामा भारत सरकारले ७ वटा एम्बुलेन्स पनि प्रदान गराइसकेको छ । भारतीय सरकारले नेपालको विभिन्न जिल्लाहरुमा शिक्षा र स्वास्थ्यको ठूला तथा साना विकास कार्यक्रमको लागि आर्थिक सहयोग गर्दै आएको छ ।

विशेष