राजनीति News

सरकारले निर्वाचनको मिति घोषणा गरे मोर्चा आन्दोलनमा जाने

सरकारले निर्वाचनको मिति घोषणा गरे मोर्चा आन्दोलनमा जाने
फागुन - ७ । सरकाले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गरे मधेसी मोर्चाका नेताहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई स्थानीय निकायको चुनावको मिति घोषणामा समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहलाई लत्याउँदै मोर्चाले आफ्नो अडान कायमै राखेको छ । छलफलमा मोर्चाका नेताहरुले संविधान संशोधन नगरि निर्वाचनको मिति घोषणा गरे सरकारले मिति घोषणा गरेको एक घन्टामा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको बिकल्प नभएको बताए । संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए । उनले निर्वाचनको बिकल्प नभएकाले राजनीतिक गतिरोध अन्त्यका लागि जिम्मेवार भएर सहयोगी भूमिका खेल्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए । तर, मधेशी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राखे । मोर्चाका नेताहरुले संविधानको स्वामित्व ग्रहणपछि मात्रै निर्वाचनमा जान सकिने मोर्चाको धारणा रहेको प्रधानमन्त्रीलाई अवगत गराए । बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला, गृहमन्त्री बिमलेन्द्र निधि, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राई लगायतका नेताहरु सहभागि भएका थिए । निर्वाचन आयोगले सरकारलाई तत्काल निर्वाचनको मिति घोषणा नगरे जेठभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गराउन नसकिने बताउँदै आएको छ । सरकारलाई आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

मधेसी मोर्चा

विशेष