News

उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन - सञ्चारमन्त्री कार्की

उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन - सञ्चारमन्त्री कार्की
फागुन - ७ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस) को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए ।
सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने, 'पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।' उनले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिए। राज्यको समाचार समितिका रुपमा विसं. २०१८ फागुन ७ मा स्थापित राससमा हाल कुल १९८ सञ्चार माध्यम ग्राहक छन् ।  

सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की

विशेष