News

रक्सौल-परवानीपुर विद्युत् प्रसारण लाइनको निर्माण कार्य सम्पन्न

रक्सौल-परवानीपुर विद्युत् प्रसारण लाइनको निर्माण कार्य सम्पन्न
फागुन - ९ । रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पूरा भएको छ। भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानको अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए। भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ। यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताए। रक्सौल परवानीपुर प्रसारण लाइन चालु भएपछि विद्युत्भार कटौतीको भार खेपिरहेका वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत्भार कटौती नहुने प्राविधिकहरुको भनाइ छ। भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ। नेपाल–भारत दुवै देशबीच विगतमा भएको विद्युत् सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत् प्रसारण लाइनमा उत्पादित विद्युत् वीरगन्ज क्षेत्रका लागिमात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोडी अन्यत्रसमेत उपयोग गरिने आयोजनाले जनाएको छ।

विद्युत् प्रसारण

विशेष