संस्कृति र रीतिरिवाजले समाजलाई एकताबद्ध बनाउँछ– राष्ट्रपति भण्डारी

फागुन - १० । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभक्तिको भावनाबाट ओतप्रोत गीत–सङ्गीतले राष्ट्र र राष्ट्रियताप्रति अटल आस्था र विश्वास जगाउँदै जनतालाई एकताको सूत्रमा बाँध्न योगदान पुर्याउने बताएकी छन्।
सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९२औँ स्मृति दिवसका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान कार्यक्रममा उनले भनिन् 'राष्ट्रिय गीतको लयमा प्रस्फुटित गौरव गाथामा गरिएको संस्कृति र रीतिरिवाजको वर्णले समाजलाई एकताबद्ध बनाउँदै आएको छ।'
राष्ट्रपति भण्डारीले सर्जक राष्ट्रका अमूल्य निधि र सम्पत्ति भएको बताउँदै स्रष्टाको साधनाबाट सिर्जित गीत, सङ्गीत कलाकृति हाम्रा गौरव र धरोहर भएको धारणा व्यक्त गरिन्।
सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले नेपाली गीत–सङ्गीतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिने काममा नातिकाजीको निकै ठूलो योगदान रहेको धारणा व्यक्त गरे।
पुरस्कृत व्यक्तित्व गीतकार रमण घिमिरेले नातिकाजीले नेपाली लोकसङ्गीतको स्तरमाथि उठाउन अद्वितीय योगदान दिएका स्मरण गरे।
अर्थविद् एवम साहित्यकार विश्वम्भर प्याकुरेलले नेपाली गीत–सङ्गीतका क्षेत्रमा नातिकाजी सुगम सङ्गीतका धरोहरका रुपमा रहेका बताए।
नातिकाजी स्मृति समाजले आयोजना गरेको उक्त समारोहमा भजन शिरोमणि भक्तराज आचार्यलाई नातिकाजी विशिष्ट स्रष्टा सम्मान २०७३ बाट सम्मानित गरियो।
उनलाई सम्मानसहित रु २० हजार एक नगद पुरस्कारसमेत प्रदान गरिएको छ।
सो अवसरमा नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान कल्याण रिमाल, उर्मिला श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, डा ध्रुवेशचन्द्र रेग्मीलाई प्रदान गरियो।
नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार रमण घिमिरे, रामकृष्ण ढकाल, देवीका बन्दना र टीका भण्डारीलाई सोही समारोहमा प्रदान गरियो। पुरस्कारको राशि जनही ११ हजार एक सय ११ रुपैयाँ छ।
त्यसैगरी, नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन पुरस्कार अमुल कार्की ढलीलाई तथा नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार आलोकश्रीलाई प्रदान गरियो।
सोही अवसरमा नातिकाजी स्मृति समाज योगदान सम्मानबाट डा कल्याणराज शर्मा, चीरञ्जीवी थापा र डण्डपाणि कँडेल सम्मानित भए।
विसं १९८२ पुस ३ गते ललितपुरको पुल्चोकमा जन्मेका नातिकाजीको २०६० साल कात्तिक १६ गते चावहिलमा निधन भएको थियो।
उनले साङ्गीतिक जीवन यात्रामा आधुनिक, लोक, राष्ट्रिय गीत र भजनसमेत गरी दुई हजारभन्दा बढी गीतमा सङ्गीत दिएका थिए।
bidhya debi bhandari