विदेश

मेक्सिकोसँगको सीमा पर्खाल तोकिएको समय भन्दा अघि निर्माण गर्ने : राष्ट्रपति ट्रम्प

मेक्सिकोसँगको सीमा पर्खाल तोकिएको समय भन्दा अघि निर्माण गर्ने : राष्ट्रपति ट्रम्प
फागुन–१४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा बनाउने भनिएको पर्खाल तोकिएको समय भन्दा अगाडि नै निर्माण कार्य सुरु गरिने बताएका छन् । राष्ट्रपति ट्रम्पले कन्जरभेटिभ पार्टीको सम्मेलनमा मेक्सिकोसँगको सीमामा पार गर्न नसकिने पर्खालको निर्माण चाँडै नै सुरु हुने बताएका हुन् । उनले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले अमेरिकाबाट खराब मानिसलाई पनि बाहिर राख्ने तथा इस्लामिक स्टेट आइएसलाई पूर्ण रुपमा नष्ट गर्ने गरी तयारी गरेको पनि बताए । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सन र होमल्याण्ड सुरक्षा मन्त्री जोन केलीले आफ्ना मेक्सिकन समकक्षीसँग भेट गरेको एक दिनपछि ट्रम्पको यस्तो भनाई आएको हो । तर टिल्लर्सन र केलीले आफ्ना समकक्षीसँगको भेटमा सीमामा बनाउने भनिएको पर्खालका विषयमा कुरा नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सीमामा बनाउने भनिएको पर्खाल निर्माणका लागि २१ अर्ब ५० करोड अमेरिकी डलर भन्दा धेरै लाग्ने होमल्याण्ड सुरक्षा मन्त्रालयको आन्तरिक प्रतिवेदनलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यो राष्ट्रपति ट्रम्पले भने भन्दा धेरै बढी हो । चुनावी अभियानदेखि नै ट्रम्पले पर्खाल बनाउनका लागि १२ अर्ब डलर लाग्ने बताउँदै आएका छन् । ट्रम्पले पर्खाल निर्माणका लागि मेक्सिकोले पनि लगानी गर्नु पर्ने बताउँदै आएपनि मेक्सिकोका राष्ट्रपति इन्ड्रिक पेनाले भने अस्वीकार गरेका छन् ।

अमेरिका डोनाल्ड ट्रम्प मेक्सिको सीमा पर्खाल

विशेष