News

विकास गर्ने हो भने स्थानीय निकाय गैरदलीय बनाऔं

विकास गर्ने हो भने स्थानीय निकाय गैरदलीय बनाऔं

–डा. राजेश अहिराज स्थानीय तहमा गैरदलीय निर्वाचनको विषय मैले दुई वर्ष अगाडिदेखि नै उठाउँदै आएको हो । स्थानीय तहमा नगदविहीन नेतृत्व र पार्टीविहीन समितिको अवधारणा विकासको दृष्टिले उत्तम हुन्छ । सरकारले दिएको बजेट बोकेर जिल्ला जाने माननीयज्यूलाई हामीले त्यो पैसा के मा खर्च गर्नुहुन्छ ? भनेर सोध्यौं भने उनीहरुले सडक, शिक्षा, स्वास्थ्य, सिंचाई आदिमा खर्च गर्छु भन्छन् ।

जब कि त्यस्ता क्षेत्रमा खर्च गर्न सरकारले पहिले नै आफ्नो कार्यालय, कर्मचारी र बजेटको व्यवस्था गरिसकेको हुन्छ । एउटै काम, क्षेत्रका लागि दोहोर्याएर सरकारले खर्च किन गर्नु पर्ने हो यो मैले बुझेको छैन । नेताले नगद खोज्ने होइन । नेताले नीति बनाउने हो । पैसा बोक्ने होइन । जनताले चाहेको कार्यक्रम र नीति सरकारका निकायलाई सुझाउने हो । त्यही भएर नेतृत्व तप्का नीति निर्माणमा ध्यान दिनु पर्छ । बजेट बोकेर हिँड्नु हुँदैन । अर्थात सबै तहका नेतृत्व नगदविहीन हुनु पर्छ ।

एक टेलिभिजन कार्यक्रममा कांग्रेस नेता बलबहादुर केसीलाई मैले यहि विषय राखेको थिएँ । उहाँले मलाई ‘तानाशाही विचार राख्नु भयो’ भन्नु भयो ।


प्रश्न उठ्छ स्थानीत तहमा गैरदलीय निर्वाचन हुँदा के हुन्छ ?

यस्ता निर्वाचन गराउँदा पहिलो कुरा त स्थानीय तहको विकासका लागि गएको बजेटबाट कुनै दलका पनि कार्यकर्ता पालिरहनु पर्दैन । अहिले स्थानीय तहमा गएको सरकारी बजेटबाट दलका स्थानीय कार्यकर्ताहरु पालिएका छन् । विकास बजेटमा कार्यकर्ता पालिन्छन् । नेताहरुलाई नमस्कार टक्र्याउने त औपचारिकता मात्रै हो । यदि यस्तो भयो भने सरकारी बजेट दलका कार्यकर्तामा जाँदैन । कार्यकर्ताले आफ्नै नेताको गोदाम खोज्न थाल्ने छन् । सुशासनको दृष्टिले यो राम्रो छ । सरकारी खर्चमा कार्यकर्ता पाल्ने प्रवृत्तिको विरुद्ध छ ।

स्थानीय तहमा गैरदलीय निर्वाचन हुने हो भने हरेक क्षेत्रमा समाजमा नाम कमाएका, प्रतिष्ठीत, सेवानिवृत्त माथिल्लो ओहोदाका कर्मचारी, सेना प्रहरीका अधिकृतहरुले पनि विकासमा नेतृत्व गर्न सक्छन् । सरकारी कोषबाट पेन्सन खानेहरुको केही जिम्मेवारी त राष्ट्रका लागि पक्कै हुन्छ । उनीहरुको अनुभव र क्षमताको प्रयोग गर्न सकिन्छ । यसो गर्दा स्थानीयत तह भनेको राजनीति गर्ने थलो होइन विकासे अड्डा हो भन्ने मान्यता स्थापित हुन्छ ।

केही नेताहरुले भनिरहेका छन् कि यसो गर्दा स्थानीय तह कमजोर हुन्छ । निश्चिय पनि स्थानीय नेता कमजोर हुन्छन्, तह होइन । स्थानीय तह त बलियो हुन्छ ।

दलीय निर्वाचन हुँदा एक जनाले जित्छ । बाँकी दलले हार्छन् । पराजित दलका नेता, परिवार, कार्यकर्तालाई विजयी भएको नेताले अनावश्यक दुःख दिएको पनि देखिएको छ । स्थानीयत तहमा जनताले पाउने सेवा सुविधामा विभेद पनि सिर्जना भइरहेको पाइएको छ ।

यो मोडल भारतीय हो भनेर विरोध गर्नुको अर्थ छैन । किनभने भारतमा राष्ट्रपति, उपराष्ट्रपतिको व्यवस्था छ । हाम्रोमा पनि छ । अरु देशमा के छ के छैन त्यो मतलवको विषय होइन । हाम्रो भलो जे मा हुन्छ त्यो गर्ने हो ।

अहिले स्थानीय तहमा चुनाव लड्न १०–२०, संसदमा लड्न २–४ करोड नै खर्च भएको सुनिन्छ । निर्वाचन त्यसले मात्रै जित्न सक्छ जो धनपति छ । राजनीति धन भएकाहरुको हातमा मात्रै सुम्पिइन्न । सुम्पिनु हुँदैन । राजनीतिमा धन मात्रै भएका होइन बुद्धी भएकाहरु आउनु पर्छ । अहिलेको व्यवस्थाले त धन भएकाहरु माथिल्लो तहमा पुग्दै छन् ।


बहुराष्ट्रको कुरा

मधेसी मोर्चाले नेपाल बहुराष्ट्र मुलुक हो भन्दा अरु दलहरु तर्सिन्छन् । यसमा तर्सिनु पर्ने कुनै कारण छैन । राष्ट्रियता र देशभक्तिबीचको अन्तर थाहा नपाउँदा भ्रम फैलिरहेको छ । नेपालमा तीन खाले राष्ट्रियता छ । पहाडमा जनजातिको राष्ट्रियता, तराईमा मधेसी राष्ट्रियता र खसहरुको राष्ट्रियता । खसहरुले राष्ट्रियता सबैको एउटै हो, एउटै हुनुपर्छ भन्ने गर्छन् । खसको राष्ट्रियता नै समग्र राष्ट्रवाद हो भन्ने गर्छन् । यो धारणामा कैफियत छ ।

म स्पष्ट रुपमा भन्न चाहन्छु कि नश्लीयवादको पर्यायवाची शब्द नै राष्ट्रवाद हो । जति जति राष्ट्रवाद बलियो हुँदै जान्छ, मुलुक टुक्रिने सम्भावना बढ्दै जान्छ । एउटै नश्ल, धर्म, संरचना, समुदाय, एउटै भूमिमा बस्ने उस्तै खाले मानिसहरुले महशुस गर्ने अपनत्व राष्ट्रियता हो । यस्तो राष्ट्रियता नेपालमा तीन खाले छन् । यी तीन खाले राष्ट्रियता मिसाएर नेपाली राष्ट्रियता बनाउनु पर्छ ।

अब देशभक्तिको कुरा जोडौं । हामीले हिमाल, पहाड र तराईमा राष्ट्रियताको कुरा होइन देशभक्तिको कुरा सिकाउनु पथ्र्यो । एउटा मुलुकमा जतिवटा पनि राष्ट्रियता हुन सक्छ । तर देशभक्ति एउटै हुनुपर्छ । देशभक्तिले बाँकी सबै वाद, विचारलाई समेट्छ ।


मधेसी मोर्चा पनि नश्लवादी नै हो

कांग्रेस, एमाले र माआवादीलगायतका पार्टीको शीर्ष तहमा ९८ प्रतिशत खसहरु छन् । मधेसी दलहरुमा ९९ प्रतिशत मधेसी छन् । मधेसीले देखाउनकालागि एकाध खसहरुलाई राख्छन् । अरु दलले पनि देखाउनकालागि एकाध मधेसी राख्छन् । यी दुवै खाले दलहरु नश्लीय छन् । कुनै पनि दल नेपालमा राष्ट्रिय छैनन् । ठूला भनाउँदाहरु राष्ट्रिय संरचना भएको नश्लीय दल हुन् । मधेसी मोर्चाहरु क्षेत्रीय संरचना भएका नश्लीय दलहरु हुन् । दुवैले एउटा एउटा समुदायका लागि मात्रै राजनीति गर्दै आएका छन् । जसको समग्रताले देश हित गर्न सकेको छैन ।

हालसालै २ सस मधेसी वकिलहरुले सामूहिक राजीनामा दिएको खबर बाहिर आयो । यो नश्लीयवादको एक नमूना हो । पहिले दलहरुमा मधेसी, पहाडी, जनजाति भनेर फरक थियो । अब मधेसी वकिल–पहाडे वकिल, मधेसी डाक्टर–पहाडे डाक्टर यसरी समाज विभाजित हुँदैछ । राष्ट्रवादलाई प्रश्रय दिँदा उत्पन्न हुने परिणाम हो यो । केही समय एमालेको सरकारमा गैरमधेसी वर्चश्वका सञ्चार संस्थाहरुले पत्रकारिता विकासका निमित्त बजेट पाउँदा मधेसी पत्रकारहरुले असन्तुष्टि देखाए । र मधेसी वर्चश्वका दुई सञ्चार संस्थाले गैरमधेसी पत्रकारसँग काम गर्न असहज हुन्छ भनेर छुट्टै बजेट लिएर गए । सरकार दिन बाध्य भयो । मुलुक ‘राष्ट्र राज्य’ तर्फ अगाडि बढ्दै छ । हामीलाई चाहिएको ‘राज्य राष्ट्र’ हो ।

मुलुक भनेको सबै खाले राष्ट्रियता बोकेको साझा हुनु पर्छ । पहाडी खसहरुले मान्ने राष्ट्रियता मात्रै राष्ट्रियता हो भन्ने सोचमा समस्या छ । देश सबैको साझा हुन सकेको छैन । नपत्याए नेपाल प्रहरीको चिफ, नेपाली सेनाको चिफ, आजसम्मका प्रधानमन्त्रीहरुलाई हेर्नुहोस् त । ती सबै एउटै क्षेत्र, जात, समुदायबाट छन् । यसकारण अब यो देश सबैको साझा हो भन्ने बनाउनु पर्छ । हाम्रो पहिलो प्राथमिकता ७५ जिल्ला हुनुपर्छ पहाड, मधेस, हिमाल भनेर छुट्टिनु हुँदैन ।


नागरिकतामा ‘क्लियर’ कुरा

नागरिकताको सवालमा म एकदम स्पष्ट छु । नेपाल भनेको नेपालीको भूमि हो । सबै तह र तप्काका वास्तविक नेपाली नै यो देशका सञ्चालक हुन् । विदेशबाट आउनेहरुलाई पनि हामीले नआइज भनका छैनौं । नेपाल आउनेहरुले सोझै यो देशको माथिल्लो पद ताक्न पाउनु पर्छ भन्ने मधेसी मोर्चाको मागप्रति गहन छलफल हुँनै बाँकी छ । कुन मागले जनतालाई समेट्छ वा समेट्दैन त्यो प्रष्टिन जरुरी छ । जब नवनागरिकले राजनीतिमा अभ्यास गर्न थाल्छ तब वास्तविक नागरिक पछि पर्छ । नागरिकताको सवालमा म ‘रिजिड’ छु । नेपालका वास्तविक नागरिककै अधिकार खोसिने गरी आगन्तुकलाई अधिकारसम्पन्न नागरिकता बाँड्ने मोर्चाको मागको म विरोधी हो । त्यसमाथि नागरिकताको विषय प्रशासनिक हो राजनीतिक बनाइयो ।

मधेसी मोर्चाले राखेको भ्रम र वास्तविकता प्रष्ट हुनुपर्छ । गत निर्वाचनमा मधेसका १२३ सिटमा मोर्चाले १२ र एमालेले ४० सिट जित्यो । अर्थात मधेसीको माग, समस्यामा मोर्चा भन्दा एमाले बढी जिम्मेवार हुनुपर्छ । किनभने मतको भार एमालेको पल्लामा बढी छ । मत लिने बेलामा लिने समस्या चाहिँ मोर्चालाई सुनाऊ भन्न एमालले पाउँदैन । अहिले भएको त्यही छ । मोर्चाले राखेको माग, आन्दोलन चिर्न एमाले कांग्रेस जनतामा जानु पर्ने थियो । तर उनीहरु गएका छैनन् । यसैको लाभ मोर्चाले उठाएको हो ।


सीमांकनको माग जनताको होइन

मधेसी मोर्चाले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा किचलो गरिरहेका छन् । कुन जिल्लाका जनता कुन प्रदेशमा बस्न रुचाउँछन् त्यो उनीहरुको निजी मामिला हो । यसमा नेताले ‘यो प्रदेशमा आऊ, त्यो प्रदेशमा नजाऊ’ भन्ने पाउँदैन । जुनसुकै प्रदेशको मान्छे पनि जुनसुकै प्रदेशमा गएर बसोबास गर्न पाउँछ । यति भएपछि सीमांकनमा किन विवाद गरिरहनु पर्यो ? मोर्चालाइ प्रदेश दुईमा झापा, मोरङ सुनसरी चाहिएकै हो भने अहिलेको प्रदेशलाई त्यस्तो राम्रो बनाउनु पर्यो कि ती तीन जिल्लाका मानिसहरुले प्रदेश दुईमा मिसिन्छौं भनेर जुलुस निकालून् । यसकारण सीमांकनको कुरा जनताको होइन नेताको मात्रै हो ।


जनसंख्याको आधारमा मात्रै प्रतिनिधित्व हुँदैन

राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व गर्ने कुरा छ त्यो पनि गलत हो । कुनै सानो ठाउँमा धेरै मान्छे बस्छन् । कतै ठूलो क्षेत्रफलमा थोरै मानिसहरु छरिएर बसेका हुन्छन् । काठमाडौं उपत्यका र कर्णाली अञ्चल नै हेरौ न । मिलन विन्दुका लागि जनसंख्यालाई ७० प्रतिशत र भूगोललाई ३० प्रतिशत भार दिएर प्रतिनिधित्वको विषय मिलाउन सकिन्छ । प्रतिनिधित्वका लागि जनसंख्या, भौगोलिक विकटता र विशिष्टता आधारहरु हुन् ।


मधेसको ‘इमोसन’मा मोर्चाले राजनीति गर्यो

मधेसका जनता भावुक छन् । त्यही भावनालाई मधेसी मोर्चाले राजनीतिको हतियार बनायो । मधेसीले नपाएको र बाँकी जनताले पाएको कुनै पनि अधिकार छैन । प्राप्त उपलब्धी संस्थागत गर्ने र बाँकी अधिकारकोलागि संघर्ष जारी राख्ने भनेर मधेसी मोर्चा चुनावमा जानु पर्छ । लोकतन्त्रमा विश्वास गर्नेले चुनावबाट उम्किनु हुँदैन । यसो भन्दैमा मधेसी मोर्चा अहिले चुनावमा जान सकिरहेको छैन । उनीहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यापक छ । ६४ सालदेखि ७३ सालसम्म आउँदा मोर्चाका नेताहरुको राजनीतिक चरित्रमा लागेको दाग गाढा छ ।

त्यो पखाल्न उनीहरुलाई हम्मे हम्म परेको छ । परिवारका मान्छेदेखि पैसावालालाई समेत सभासद पद बाँडे/बिक्री गरेको सुनियो । विकास त भयो तर नेताको मात्रै । जनता फुस्रै छन । मधेस उराठलाग्दो छ । मधेस २०६३ पछि थप अराजकता, थप अशान्ति, थप गरिबी र थप भ्रष्टाचारमा बाँच्न बाध्य छ । त्यसैले मधेस केन्द्रीत दलका नेताहरुले अब देश केन्द्रीत राजनीति गर्नुपर्छ । मुलुकलाई जातीय द्वन्द्वमा होइन विकाससँग जोड्नु पर्छ ।

यस्ता कारणले उनीहरुलाई मधेस फर्केर भोट माग्न सजिलो छैन । अहिलेको संविधान संशोधनले मधेसको समस्या समाधान गर्दैन । अत्यो अन्तिम पनि होइन । मधेसी मोर्चा अहिले ‘पहाडी वर्चस्व छिनेर मधेसमा ल्यायौं यो हेर जनता हो !’ भन्न चाहन्छ । जनतामा त्यो देखाउन चाहन्छ । बाँकी उनीहरुसँग केही छैन ।

(डा. अहिराजसँग भएको कुराकानीमा आधारित)

election madeshi

विशेष