विदेश News

विश्वका ३० करोड बालबालिका विषाक्त हावामा सास फेर्न बाध्य : युनिसेफ

विश्वका ३० करोड बालबालिका विषाक्त हावामा सास फेर्न बाध्य : युनिसेफ
फागुन–१५ । विश्वका करिब ३० करोड बालबालिका तीव्र विषाक्त वायुमण्डलमा सास फेर्न बाध्य रहेको तथ्य संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) ले हालै जनाएको छ । यस्तो विषाक्त वायुले ती बालबालिकाको मुटु, मस्तिष्क र सामान्य शारीरिक विकासमा गम्भीर भौतिक क्षति पुगिरहेको समेत युनिसेफद्वारा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वका सात बालबालिकामध्ये औसत करिब एक जनाले सास फेरेको हावा अन्तर्राष्ट्रिय मापदण्डले तोकेको गुणस्तरभन्दा छ गुणा बढी फोहोरी वा प्रदूषित हुने गरेको छ । साथै, अत्यन्त प्रदूषित वायुमण्डल नै विश्व बाल मृत्युदर बढाउनमा समेत मुख्य कारक तत्व बनिरहेको पनि युनिसेफ उल्लेख गर्छ । मोरक्कोको आतिथ्यमा राजधानी रबातमा गतः नोभेम्बर ७ देखि १८ सम्म आयोजित विश्वब्यापी जलवायु सम्मेलनको वार्षिक बैठक सम्पन्न भएको थियो। उक्त वार्ता सुरु हुनुभन्दा एक सातापूर्व युनिसेफद्वारा प्रकाशित उक्त अध्ययन प्रतिबेदनलाई वार्ताका धेरै विषयवस्तुमध्ये एक गम्भीर र प्रमुख विषयका रुपमा प्रस्तुत गरी यसमाथि लामो छलफल भएको थियो । विश्वभरी बस्ने बालबालिकाको स्वास्थ्य, शिक्षा, पौस्टिक आहार र कल्याणको रक्षा, प्रवर्द्धन एवम् सुनिश्चितता गर्ने तथा विश्व बालअधिकारको पक्षमा वकालत गर्ने एकमात्र सर्वमान्य र ठूलो संस्था युनिसेफले विश्वका ठूला नेता तथा सरकार प्रमुखलाई आ–आफ्ना राष्ट्रका वायुमण्डलमा प्रदूषणशून्य गराउनेतर्फ गम्भीर ध्यान दिई यस विषयमा पहिले गरेका वचनबद्धता पूर्ण कार्यान्वयनमा ल्याउन बारम्बार घचघच्याइ रहेको छ । हरेक वर्ष विश्वका पाँच वर्षमुनिका करिब छ लाख बालबालिकाको अकाल मृत्यु गराउने प्रमुख कारक नै वायुमण्डलको प्रदूषण हो। यही प्रदूषणले थप दसौं लाख ब्यक्तिको दैनिक जीविका र सुनौलो भबिष्यलाई समेत जोखिममा पारिरहेको युनिसेफका कार्यकारी निर्देशक एन्थोनि लेकको भनाइ छ । प्रदूषणकर्ताले जानाजानी बालबालिकाका कलिला फोक्सोमा क्षति पुर्याइरहेका मात्र छैनन्, उनीहरुका मुटुदेखि मस्तिष्कसम्म रक्तसञ्चार हुने मूल प्रणालीमै आघात पारी मस्तिष्क विकासको क्रमलाई स्थायी हानी पुर्याउँदै यसको परिणाम स्वरुप उज्ज्वल भविष्यलाई नै चरम जोखिमयुक्त तुल्याइरहेका छन् । विश्वको कुनै पनि समाजले वायु प्रदूषणलाई केही होइन भनी बेवास्ता गर्ने स्थिति बिल्कुलै नरहेको टिप्पणी गर्छन् कार्यकारी निर्देशक लेक । त्यस्तै, भू–उपग्रहबाट खिचिएको विश्व वायुमण्डलको वर्तमान फोटोचित्रबाट युनिसेफ चिन्तित छ । मानवलाई सास फेर्न आवश्यक पर्ने स्वच्छ वायुको, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको न्यूनतम गुणस्तरभन्दा निकै खराब स्तरको वायुमण्डलीय क्षितिजभित्र करिब सात अर्बको विश्व जनसङ्ख्यामध्ये लगभग दुई अर्ब बालबालिका बाँच्न विवस र बाध्य भएको युनिसेफ ठोकुवा गर्दछ । युनिसेफको अध्ययन प्रतिबेदनमा खाना पकाउन वा चोटा, कोठा तताउन घरभित्र बालिने कोइला, दाउरा, लिक्विड पेट्रोलियम ग्यास (एलपिजी), मट्टितेल वा डिजेलजस्ता इन्धनबाट बिसर्जन हुने वायु प्रदूषणको पनि चर्चा गरिएको छ। चाहे घरभित्रबाट विसर्जित हुन् वा खुल्ला आकाशमुनिबाट उत्सर्जित, यी सबै प्रकारका प्रदूषण सीधै श्वासप्रश्वाससम्बन्धी र निमोनिया रोगका प्रमुख श्रोत हुन् । पाँच वर्षमुनिका प्रत्येक दस बालमृत्युमध्ये यिनै श्वासप्रश्वास सम्बन्धी र निमोनिया रोगबाट एक जनाको मृत्यु हुने गरेको छ । वायु प्रदूषणबाट सिर्जित बाल स्वास्थ्य विनाश नियन्त्रण गर्नमा ध्यान पुर्याउन नसक्नुमा गरिबीले पनि अहम् भूमिका निर्बाह गरिरहेको छ । गरिबीका कारण बाल स्वास्थ्य संरक्षणमा बेवास्ता हुन जाँदा धेरै बालबालिकाले अकाल मृत्यु वरण गर्नु परिरहेको प्रतिवेदनमा छ । जति गरिबी, उत्ति नै उपचार र स्वास्थ्य सेवामा पहुँच हुन नसक्नुको कारण त्यस्ता बालबालिका बढी पीडित हुने गरेको पाइन्छ । रासस

बालबालिका युनिसेफ विश्व विषाक्त हावा

विशेष