News

उद्योगीले चुरोट खैनीमा चेतनामूलक सन्देश राख्न मानेनन्

उद्योगीले चुरोट खैनीमा चेतनामूलक सन्देश राख्न मानेनन्
फागुन–१६ । सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्ने निर्देशिकालाई कार्यान्वयनमा ल्याउन केही स्वेदशी उद्योग तथा व्यवसायीले नै अटेर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ गतेदेखि निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । सो निर्दे.शिकामा विशेषगरी सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने बाध्यकारी तथा सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने प्रावधान रहेको छ । सूर्तीजन्य पदार्थ उत्पादन गर्ने स्वदेशी उद्योगले नै निर्देशिकालाई अटेर गरी कार्यान्वयन नगरिरहेको आयोजित कार्यक्रममा जानकारी दिइएको छ । कुन–कुन उद्योगले अटेर गरिरहेका छन् भन्ने सार्वजानिक भने गरिएन । अर्कोतर्फ सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश राख्दा ती पदार्थको उपभोग गर्नेको सङ्ख्या आधा घटेको अध्ययनले समेत देखाएको छ । स्वास्थ्यसम्बन्धी अनलाइन ‘नेपाली हेल्थ’तथा एक्सन नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सरदर दैनिक ११ वटा चुरोट उपभोग गर्नेले अहिले पाँचवटामा झरेको अध्ययनमा देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सूर्तीजन्य पदार्थका कारण दैनिक अर्थात् १५ हजारको अकालमा मृत्यु हुने गर्दछ । मृत्यु हुनेमा अधिकांश ती पदार्थ सेवन गर्दा लाग्ने क्यान्सरकै कारण हुने गर्दछ । सङ्गठनले नेपालजस्तो विकासोन्मुख देशमा प्रत्येक छ जनामध्ये एकजना क्यान्सरका रोगी हुनसक्ने प्रक्षेपणसमेत गरेको छ । एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा सूर्तीजन्य पदार्थका कारण उत्पन्न हुने रोग देखा परिरहेको चर्चा गर्दै सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र तथा अङ्कित गर्नुपर्ने प्रावधानलाई कडाइ गर्न आग्रह गरे । उनले स्वदेशी उद्योगले नै सरकारको प्रावधानलाई अटेर गरेको हुँदा स्वास्थ्य मन्त्रालयले अनुगमन गरी बाध्यकारी अवस्था सिर्जना गर्नुपर्ने बताए । स्वास्थ्य मन्त्रालयका सहसचिव एवम् प्रवक्ता भोगेन्द्र डोटेलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण तथा नियमावलीको प्रावधानलाई कार्यान्वयन गर्न अनुगमनलाई अगामी दिनमा अन्तरमन्त्रालयको समन्वयमा चुस्त बनाइने जानकारी दिए । उनका अनुसार मन्त्रालयले हलसालै जारी गरेको मदिरा नीतिलाई प्रभावकारी कार्यान्वयनमा ल्याउन मदिरा ऐन ल्याउन लागेको छ । वरिष्ठ श्वासप्रश्वास चिकित्सक करवीरनाथ योगीले क्यान्सर हुने प्रमुख कारण धूमपान नै रहेको चर्चा गर्दै यसले श्वासप्रश्वास, मुटु फोक्सोका विभिन्न रोग लाग्ने बताए । कार्यक्रममा उपसचिवद्वय शम्भु रेग्मी र खेमानन्द भुसालले धूमपान नियन्त्रण गर्न ऐन, नियमको प्रभावकारी कार्यान्वयनको खाँचो औँल्याए । सांसद राधाकृष्ण कँडेलले धूमपानले पार्ने असरका बारेमा ग्रामीण क्षेत्रमा सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिए । रासस

उद्योगी चेतनामूलक सन्देश सूर्तीजन्य पदार्थ

विशेष