विदेश

चिलीमा ४० लाख उपभोक्ताको खानेपानीको आपूर्ति बन्द

चिलीमा ४० लाख उपभोक्ताको खानेपानीको आपूर्ति बन्द
फागुन - १६ । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टियागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । ४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको हो । आँधीबेहरी र पहिरोको कारण चिलीमा चार व्यक्तिले ज्यानसमेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अविरल वर्षा र पहिरोका कारण माटो–ढुंगासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो । यस नदीबाट सान्टियागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुँदासम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नुपरेको अधिकारीहरुले बताएका छन् । तर, सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मानिस आपत्कालीन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् । बिनापानी नचल्ने रेस्टुरेन्टजस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिकसत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ । यसप्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घर–परिवार प्रभावित भएका छन् । खानेपानी आपूर्तिको अभावका कारण सान्टियागो जिल्लाको ३० ओटा जिल्ला प्रभावित भएको सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताएका छन् ।

Chili चिली

विशेष