राजनीति News

अन्योलमा स्ववियु निर्वाचन, अराजक बन्दै विद्यार्थी संगठन

अन्योलमा स्ववियु निर्वाचन, अराजक बन्दै विद्यार्थी संगठन

फागुन १७ । विद्यार्थी संगठन तालाबन्दी, बन्द–हडताललगायतका अराजक शैलीमा उत्रिएपछि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अन्योलमा परेको छ । अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरू तालाबन्दी र धरपकडमा उत्रिएपछि त्रिभुवन विश्वविद्यालयले १८ फागुनका लािग तय गरेको चुनावसमेत अन्योलमा परेको हो । यसअघि १४ फागुनका लागि तय भएको चुनाव पनि विद्यार्थी संगठनहरूकै विरोधका कारण सरेको थियो ।

त्रिविले स्ववियु निर्वाचनका लागि पछिल्लो मिति तय गरे पनि मनोनयन दर्ताको समयमा विद्यार्थी संगठनको तालाबन्दीले मनोनयन दर्ता नै प्रभावित भएको छ । त्रिवि शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन समिति संयोजक डा। सुधा त्रिपाठी विद्यार्थी संगठन इमानदार नहुँदा स्ववियु निर्वाचनमा अवरोध भएको बताउँछिन् । निर्वाचनमा सहमत विद्यार्थी संगठनहरू विभिन्न बहानामा निर्वाचन रोक्न लागिपरेका कारण दोस्रोपटकका लागि तय भएको मिति पनि गुज्रन सक्ने उनको भनाइ छ ।

विद्यार्थी संगठनहरू कतै कुटाकुट कतै क्याम्पस प्रमुखमाथि हातपात, कतै तालाबन्दीजस्ता अराजक र अलोतान्त्रिक गतिविधिमा लागेका कारण निर्वाचन गराउन समस्या भएको उनको गुनासो छ ।

क्याम्पसपिच्छे फरक फरक समस्या भएको बताउँदै डा। त्रिपाठी आधा जसोमा भर्ना विवाद र आधाजसोमा नेविसंघको आन्तरिक किचलोले तालाबन्दी हुँदा समस्या भएको तर्क गर्छिन् । उनले त्रिभुवन विश्वविद्यालयले सुरक्षा व्यवस्थाका लागि सबै सुरक्षा निकायसँग समन्वय गरिसकेकाले निर्वाचनको दिन सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी गराइन् ।

त्रिविले १४ र १५ गतेको कार्यतालिका नै एक दिन पछि धकेलेर मनोनयका लागि अन्तिम विकल्प दिएको थियो । एक दिनपछि पनि विद्यार्थी संगठनले तालाबन्दी जारी राखेपछि स्ववियु निर्वाचनको मनोनयन दर्ता आंगिक क्याम्पसमध्ये २२ वटा मात्र भएको थियो ।

निर्वाचन समिति संयोजक डा. त्रिपाठीका अनुसार सोमबारसम्म ६० आंगिक क्याम्पसमध्ये २२ वटा क्याम्पसमा मात्र मनोनयन दर्ता भएका छन् । आइतबारसम्म २४ वटा क्याम्पसमा मनोनयन दर्ता भएकोमा गोरखाको गोरखा क्याम्पस र काठमाडांैको जनप्रशासन क्याम्पसमा सोमबार फेरि विद्यार्थीले तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संगठनको एक समूह, अखिल क्रान्तिकारीका वैद्य, विप्लव र बाबुराम पक्षधर र मधेसी मोर्चाका विद्यार्थी संगठन तालाबन्दीमा उत्रिएका छन् । यसअघि त्रिविल १४ गते निर्वाचनको मिति तोके पनि विप्लव माओवादीनिकट विद्यार्थी संगठनले तालाबन्दी गरेपछि चुनाव चार दिनपछि धकेलिएको थियो ।

सवै विद्यार्थी संगठनको सहमतिमा १८ फागुनका लागि निर्वाचन तय भए पनि नेविसंघको एक समूह मनोनयन दर्ताका दिन तालाबन्दीमा उत्रिएपछि मनोनयन दर्ता प्रभावित बनेको अन्य विद्यार्थी संगठनको आरोप छ । नेविसंघ महामन्त्री कुन्दन काप्mले भने नेविसंघलाई अनावश्यक लाञ्छना लगाएको भन्दै त्यसको विरोध गर्छन् । ‘नेविसंघले एउटा क्याम्पसमा तालाबन्दी गरेको छैन,’ महामन्त्री काप्mलेको दाबी छ ।

उनले अनेरास्वबियुलगायतका विद्यार्थी संगठनहरू नै हार्ने सम्भावना भएका क्याम्पसमा तालाबन्दीमा उत्रिएको बताए । ‘अमुख नाम गरेको संगठनले तालाबन्दी गरेको भरमा निर्वाचन अवरोध आउनु र त्रिविले निर्वाचन गर्न नसक्नु नालायकपन हो,’ उनी भन्छन् ।

नेविसंघको असहमतिबीच जबर्जस्त निर्वाचन मिति तय भएको भए तापनि आफूहरूले सहमति जनाएको भन्दै उनले अनावश्यक लाञ्छना नलगाउन आग्रह गरे ।

उता, अखिल र अखिल क्रान्तिकारी भने नेविसंघले अलोकतान्त्रिक चरित्र देखाएका कारण निर्वाचन प्रक्रिया प्रभावित बनाउन खोजिएको बताउँछन् । नेविसंघकै उक्साहटमा अधिकांश क्याम्पसमा तालाबन्दी भएको उनीहरूको आरोप छ । अनेरास्ववियुका अध्यक्ष नवीना लामा नेविसंघले सहमति उल्लंघन गर्दै अराजक र अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दा निर्वाचनमा समस्या आएको बताउँछिन् । हार स्विकार्न नसक्ने र चुनाव सम्पन्न भइसकेका क्याम्पसमा पराजय भोग्नुपरेपछि नेविसंघ तालाबन्दीमा उत्रिएको उनी बताउँछन् । नेविसंघको आन्तरिक किचलोले समग्र स्ववियु निर्वाचन बिथोलिनुहुन्न भन्ने पक्षमा अनेरास्ववियु रहेको बताउँदै तोकिएकै मितिमा चुनाव हुनुपर्ने उनको अडान छ । सम्बन्धित क्याम्पसका प्रमुख र त्रिवि पदाधिकारीको नेतृत्व क्षमता कमजोरीले पनि निर्वाचन प्रभावित भएको उनको तर्क छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपाने कार्यतालिमा कुनै पनि हालतमा परिवर्तन गर्न नहुने र मनोनयन दर्ता भएका क्याम्पसमा निर्वाचन गरिनुपर्ने बताउँछन् । निर्वाचनमा नेविसंघ नै प्रमुख बाधक भएको आरोप लगाउँदै अध्यक्ष न्यौपाने तालबन्दी भएका क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भए पनि मनोनयन दर्ता भएका भएका क्याम्पसमा निर्वाचन सार्न नहुने बताउँछन् । स्थानीत तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा निर्वाचन रोकिए त्यसपछि निर्वाचन कहिल्यै सम्भव नहुने उनको तर्क छ ।

नेक्राविसंघका केन्द्रीय अध्यक्ष निरज लबजु पनि सम्भव भएका क्याम्पसमा निर्वाचन गर्नुपर्ने पक्षमै छन् । निर्वाचन सम्भव नभएका क्याम्पसमा फेरि कार्यतालिका ल्याएर नयाँ कार्ययोजनाका साथ निर्वाचन गर्नुपर्ने उनी तर्क गर्छन् । बारम्बार निर्वाचन मिति तोकेर पनि स्ववियु निर्वाचन रोकिएको विगतको नजिर भएकाले यसपटक निर्वाचन नभए स्ववियु निर्वाचन कुनै पनि हालतमा सम्भव नभएको उनी बताउँछन् ।

राजधानी

Student Election

विशेष