News

चुनाव हुन दिँदैनौ भन्ने फोरम नेता दल दर्ता गराउन पुगे एमाले भन्दा अगाडी

चुनाव हुन दिँदैनौ भन्ने फोरम नेता दल दर्ता गराउन पुगे एमाले भन्दा अगाडी

फागुन १७ । संघीय समाजवादी फोरम नेपाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने सन्दर्भमा सोमबार सँगसँगैजसो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

संविधान संशोधन प्रस्तावप्रति फरक मत जाहेर गर्दै आएको एमाले र ‘संविधान संशोधन नभइ निर्वाचनलाई मान्दैनौं’ भन्दै आएको फोरमका नेताको आयोगको दल दर्ता कोठामा भएको जम्काभेटलाई एउटा सुखद् संयोगकैरुपमा लिइएको छ ।

आयोगको सूचनाअनुरुप फोरमका प्रमुख सचेतक डा। शिवजी यादवले स्थानीय तहको दल दर्ताका लागि निवेदन दर्ता गराइरहेकै समयमा एमालेका नेता कृष्णगोपाल श्रेष्ठको नेतृत्वको टोली पनि आयोग पुगेको थियो । दुबै नेताहरुले त्यहाँ एकार्कालाई अभिवादन गर्दै हार्दिकताका साथ तस्वीर खिचाउन भ्याए ।

निर्वाचनमा भाग लिन चाहने दललाई तीन दिनभित्र दर्ता गर्न आउने निर्वाचन आयोगको सूचनानुसार दलका आधिकारिक व्यक्ति, झन्डासहितको विवरण लिएर दर्ताका लागि आफू आयोगमा आएको फोरमका प्रमुख सचेतक डा. यादवले राससलाई जानकारी दिए ।

उनले भने–‘पार्टीको सबै जिल्लामा संगठन विस्तार गर्ने र अधिवेशन गर्ने काम भइरहेको छ, अध्यक्षलगायतका नेता संगठनको काममा तराईमा व्यस्त हुनुहुन्छ ।’

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले भने–‘१९ वर्षपछि आगामी वर्षको वैशाख ३१ गते प्रजातन्त्रको आधारशिलाकारुपमा रहेको स्थानीय तहको निर्वाचन हुँदैछ, यसले सिंगो देशमा उत्साह र उत्सव छाएको छ ।’

स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ताका लागि फोरमले एमालेभन्दा पनि पहिले आएर दल दर्ता गराएकामा आफूलाई खुसी लागेको बताउँदै उनले ‘स्थानीय तहको चुनावमा पनि हामी यसरी नै मिलेर चुनावमा जानेछौं, मधेसका जनता निर्वाचनका लागि आतुर छन् भन्ने मैले बुझेको छु’–भने ।

‘निर्वाचनका लागि राजनीतिक दल र जनता तयार छन्, निर्वाचनमा गएर सबै राजनीतिक दललाई आआफ्नो एजेन्डालाई अनुमोदन गराउने एउटा ठूलो अवसर आएको छ’–पार्टी केन्द्रीय कार्यालय सचिव श्रेष्ठले भने ।

आयोगमा दल दर्ताका लागि सोमबार सात राजनीतिक दलले निवेदन दिइसकेका छन् । अन्य १६ दलले दर्ताका लागि फाराम लगिसकेको आयोगले जनाएको छ ।

विगतको निर्वाचनमा ‘परेवा’ चिह्न पाएको राष्ट्रवादी एकता पार्टीका अध्यक्ष उमा श्रेष्ठले दल दर्ता गर्ने सन्दर्भमा बुझ्न आफू आयोगमा आएकोे जनाउँदै सबै कागजातसहित मंगलबार निवेदन दिइने बताइन् ।

आयोगको परिसरमा भेटिएका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष शिवलाल थापाले निर्वाचनको मिति घोषणा भएपछि जनता र राजनीतिक दलमा उत्साह छाएको प्रतिक्रिया दिए ।

उनले भने–‘राजनीतिक दलले निर्वाचनका सन्दर्भमा गाउँ–गाउँमा कार्यकर्ता परिचालन गर्न सुरु गरेका छन्, राजनीतिक दलका नेताले आमजनता र मतदातासँग भेटघाट गर्नेक्रम बिस्तारै बढेको छ ।’

प्रमुख राजनीतिक दलले संविधानका केही अन्र्तवस्तुप्रति असहमति जनाउँदै फरक मत राख्दै आएका राजनीतिक दलको आवाजलाई सम्बोधन गरेर निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने सुझाव पनि उनले दिए ।

आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आगामी बुधबारसम्मको समयसीमा तोकेको छ । आयोगले स्थानीय तहको निर्वाचनका सन्दर्भमा दलसँग अन्तरक्रिया र परामर्श पनि गरिरहेको छ ।

विशेष